अपडेट 
२०८० माघ ४, बिहीबार ०७:४०

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाइ रहेकै बेला मन्त्रीद्वय महेश प्रसाद यादव र चन्दन सिंहकै अगाडि जनमत पार्टीका कार्यकर्ताले नाराबाजी गरेपछि मुख्यमन्त्री सरोजकुमार यादवले जनमतका मन्त्रीहरुलाई सरकार छाडेर जान दबाब दिएकाछन् ।

मधेश प्रदेश सरकार बुधबार जनकपुरधाम स्थित महेन्द्र नारायण निधि संस्कृति मिथिला केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलन र स्वाभिमान दिवस कार्यक्रमकै बीच जनमतका कार्यकर्ताबाट नाराबाजी गराउन लागेका थिए । मधेश प्रदेश सरकारले आफ्नो एक बर्षे कार्यकाल पूरा गरेको अवसरमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो । वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्रीको अगाडि नै जनमतका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

मधेश प्रदेशमा जनमत पार्टीले दुई मन्त्रालय पाएको छ । श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा सामाज कल्याण मन्त्री महेश यादवकै सामु उनीहरुले प्रदर्शन गरेपछि मुख्यमन्त्री यादवले भने–‘यो सरकार भ्रष्टाचारी हो भने सरकार छाडेर जाँदा हुन्छ ।’ जनमत पार्टीले गरेको व्यवहार अति नै अव्यवहारिक रहेको भन्दै मुख्यमन्त्री यादवले लोकतन्त्रमा विरोध गर्ने अधिकार सवैको हुन्छ तर, जायज मागको लागि आन्दोलन र नाराबाजी हुनु पर्नेबताए ।

सत्ता गठबन्धनबाट टाढिदै गएको जनमत पार्टीको राजनीतिक स्टन्ट नै रहेको भन्दै संस्कृति केन्द्रमा चर्चा चलेको थियो । त्यहाँ उपस्थित अधिकांश प्रदेश सभा सदस्यहरुले वार्षिक प्रगति विवरण सार्वजनिक र स्वाभिमान दिवस मनाउने क्रममा जनमत पार्टीले अनावश्यक वखेडा झिकेको आरोप समेत लगाएका थिए ।

हुन त नेकपा एमालेले मधेश प्रदेश सरकारको स्वाभिमान दिवसकै दिन प्रदेश सभामा स्वाभिमान दिवस मनाए । पत्रकार सम्मेलन पछि जनमत पार्टीका दुवै मन्त्रीसमेत एमालेको स्वाभिमान दिवसमा पुगेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)का एक मधेश प्रदेश सदस्यले जनमत सत्ता गठबन्धनमा बस्ने अनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुले आफ्नो चरित्र आफै उदांगो पारेको आरोप समेत लगाए । नेपाली कांग्रेस मधेशका एक प्रदेश सभा सदस्यले भने–‘राजनीतिमा स्थिरता आवश्यक हुन्छ, जो जनमतका नेता कार्यकर्तामा देखिएन । आफ्नै पार्टीका नेता मधेश प्रदेश सरकारमा छन् अनि प्रदेश सरकार भ्रष्टाचारी भनेर नारा लगाउँनु भन्दा आफ्ना मन्त्रीलाई पार्टीले स्पष्टीकरण सोध्दा वा फिर्ता बोलाउँदा हुन्थ्यो नि ।’ जनमत पार्टीका नेता कार्यकर्ता एक दिन अगावै देखि नाराबाजीको तयारी थाले पनि उनीहरुलाइ सामान्य रुपमा सभा हलमा आउन दिइएको थियो । विरोध गर्नुको कुनै आवश्यकता नरहेको भए पनि केन्द्रदेखि मधेश प्रदेश सरकारसम्म जनमत पार्टीले थालेको विरोधका कार्यक्रमहरुलाई बेतुक र सस्तो लोकप्रियताको मनसाय रहेको उपस्थित प्रदेश सभा सदस्यहरुले टिप्पणी गरेका थिए ।

जनमत पार्टीले गठबन्धनको सरकारमा बसेर भए पनि पटक पटक गठबन्धनको विरुद्धमा गएर प्रतिपक्षीलाई सघाउने गरेको गठबन्धनका नेताहरुको भनाइ छ । उनीहरुले भने–‘जनमत पार्टीले शुरु देखिनै गठबन्धनको विरोधमा गएर काम गरेका छन् । सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उपेन्द्र यादवविरुद्ध सप्तरी निर्वाचन क्षेत्र नम्वर दुईमा सिके राउतले उम्मेदवारी दिनु, उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवविरुद्ध उम्मेदवारी, पर्सामा उप निर्वाचनमा समेत गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवार दिनु र अहिले राष्ट्रिय सभाको निर्वाचनमा समेत गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारीले गठबन्धनका शीर्ष नेताहरु आजिज भइसकेका कारण जनमतलाई न निल्नु न ओकल्नु भएको छ ।’ जनमत पार्टीका नेताहरुलाई गठबन्धनको बैठकहरुमा समेत बोलाउन छाडिएको छ ।

जनमत पार्टीले मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकार हुनुपर्ने विगतमा सहमति भएको अनुसार सत्ता पाउनुपर्ने माग गरेपछि गठबन्धनका शीर्ष नेताहरुलाई भने त्यो कुरा उपयुक्त नलागेको नेताहरुको भनाइ छ ।

शिक्षा तथा समाज कल्याण मन्त्री तथा जनमत पार्टीका नेता महेशप्रसाद यादवले लोकतन्त्रमा सबैको विरोध गर्ने अधिकार हुन्छ जनताले विरोध गर्दैमा सरकारलाई आत्तिनु नपर्ने बताएका छन् । उनले सरकार छाड्ने नछाड्ने विषयमा गठबन्धनले गर्ने निर्णय आफूहरुले मान्ने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News