अपडेट 
२०८० माघ ४, बिहीबार ०७:५२

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताप्रति षडयन्त्र जारी रहेको बताएका छन् ।

मधेश प्रदेश सरकारले प्रदेशको नामकरण र स्थायी राजधानी स्थापना दिवसको अवसरमा आयोजना गरेको मधेश स्वाभिमान दिवसको अवसरमा अध्यक्ष यादवले संघीयता मधेशी जनताको लागि अपरिहार्य रहेकाले संघीयताप्रति षडयन्त्र जारी रहेको बताए । उनले संघीयता मधेश र मधेशीको लागि अपरिहार्य छ, प्रजातन्त्र स्थापना भएको ३४ बर्षमा शासकहरु परिवर्तन भए पनि शासकीय स्वरुप भने परिवर्तन हुन नसकेको आरोप लगाए । मधेशीलाई हेर्ने मनोविज्ञान अहिले पनि राजा र राणाहरुकै रहेको उनको भनाइ थियो । मधेशका जनताले विभिन्न समयमा गरेको आन्दोलनको उपज संघीयता रहेको र संघीयता स्थापना भएपछि मधेशका जनता आफ्ना अधिकार लिन अगाडि बढी सकेको भन्दै अध्यक्ष यादवले शासकहरु शिक्षा, स्वास्थ्य र रोजगारमाथि षडयन्त्र गर्न थालेको टिप्पणी गरेका थिए । सीमावर्ती क्षेत्रहरुमा अहिले दैनिक सयौं युवाहरु लागू पदार्थ सेवन गर्न पुग्ने गरेको बताउँदै उनले यी समस्यालाई निराकरण गर्न सबैलाई आग्रह गरे । शासक वर्ग मधेशका युवाहरु यसरी दुव्र्यसनमा लागेर आफ्नो जीवन बर्बाद गरोस भनेर चाहेका छन् र युवाहरु पनि त्यो कुलतमै लागेका कारण मधेशका जनताहरु यस तर्फ बढी सक्रियता देखाउनुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष यादवले संघीयता स्थापना भए पनि राजा महेन्द्रको अञ्चलको परिकल्पना भन्दा बढी अरु प्रदेशहरुले गर्न नसकेको टिप्पणी गरे । उनले मधेश प्रदेश मात्रै पहिचानको आधारमा नामकरण भएको बताए । अन्य प्रदेशहरु कोशी अञ्चललाई कोशी प्रदेश, वागमती अञ्चललाई वागमती प्रदेश मात्रै नामकरण गरिएको बताए । उनले मधेशलाई बचाउन चुरे क्षेत्रलाई बचाउनुपर्ने आवश्यकता रहेको बताए । २०७२ सालमा सदनबाटै चुरे उत्खनन बन्द गरिएको र अहिले आएर फेरि केही व्यक्तिले चुरे विनाश गर्न तर्फ उद्यत भएकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले विगत देखि गर्दै आएको कामको सही मूल्यांकन हुनु जरुरी रहेको बताए । उनले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाममा स्थापना गर्नकालागि आफ्नो भूमिकाको सवैले प्रशंसा गरे पनि मुख्यमन्त्री भएको एक बर्षमा कुन कुन कमीकमजोरी भएको छ त्यसलाई औल्याएर आफूलाई करेक्सन गर्न आग्रह गरे । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री मो. लालबाबु राउतले मधेश प्रदेशको नामकरण र स्थायी राजधानीका लागि तत्कालीन समयका प्रदेश सभा सदस्यहरुलाई धन्यवाद दिँदै स्वाभिमान दिवस मनाउने अवसर दिएको भन्दै तत्कालीन पार्टी र प्रदेश सभा सदस्यहरुमा आभार व्यक्त गरेका थिए । उनले पहिचानको आधारमा मुलुक भरिमै मधेश प्रदेश नै रहेको बताए ।

सो अवसरमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादवले मधेश प्रदेशमा भौतिक संरचनामा व्यापक फड्को मारेको बताए । उनले विगतका सरकारले एक संसदीय क्षेत्रमा ३५ किलोमिटर पक्की सडक बनाउने योजनाका लागि बजेट विनियोजन गरेको र छिट्टै कार्यान्वयनमा आउने विश्वास दलाएका थिए ।

गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको स्वभिमान कार्यक्रममा मन्त्री मोहम्मद समिमले मधेश प्रदेश सरकार गठन भएको एक बर्षमै जनताले गरेको विश्वास पूरा गर्न तिर अग्रसर भएको बताएका थिए । उनले भने–‘जनताको इच्छा अनुसार नै मधेश प्रदेश सरकार अगाडि बढेको छ ।’ सो कार्यक्रममा मधेश प्रदेश र जनकपुरधाम राजधानी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन सवै प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्री र जसपाका अध्यक्ष यादवले दोसल्ला सहित प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News