अपडेट 
२०८० माघ ९, मंगलवार ०८:१८

भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएको दिन जनकपुरधाममा भारी उल्लास छाएको छ । बेहुली झैँ सिंगारिएको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्ज्वलन गर्न सयौं श्रद्धालु भक्तजन र युवायुवतीहरु सबेरै देखि जुटेका छन् । जानकी मन्दिरमा फूलले रंगोलीहरु बनाइएका छन् । भगवान रामको ससुराली जनकपुरधाम भएकाले यहाँका बासिन्दाहरु हर्षोल्लाससाथ मनाइरहेका छन् ।

भारतको अयोध्यामा मध्यान्ह भगवान रामको प्राण प्रतिष्ठा गरिएको छ । अयोध्यामा आयोजित विशिष्ट समारोहमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव सीताको पिता जनकको रुपमा सहभागी भएका छन् । अयोध्याबाट रामजानकी विवाहमहोत्सवमा रामका पिताको रुपमा सन्त आउने गर्छन् ।

त्रेता युगदेखि नै जनकपुरधाम र अयोध्याधामबीच रोटीबेटीको सम्बन्ध रहीआएको छ । नेपाल र भारतबीचको धार्मिक सम्बन्धले मित्रतालाई प्रगाढ बनाउँदै आएकोछ । नेपाल र भारतबीचको सम्बन्धलाई सीता र रामबीचको वैवाहिक सम्बन्धले मनमनमा स्थापित गरेको जानकी मन्दिरका पुजारी ऋषिकेश दासले बताए ।

हरेक वर्ष यहाँ मनाइने रामजानकी विवाहमहोत्सव र अयोध्यामा आयोजना हुने धार्मिक कार्यक्रमहरुले त्रेता युगकालीन सम्बन्धलाई जीवन्त बनाइरहेको उनको कथन छ । जय श्रीरामको नारा लगाउँदै सोमवार दिनभरि नै पटक पटक निकालिएको शोभायात्राले जनकपुरधाम गुञ्जयमान बनेको छ । नगर क्षेत्रसँगै ग्रामीण भेगका घर र पसलहरुमा भगवान रामको झण्डा फहराइएको छ । मोटरसाइकल लगायतका सवारी साधनहरुमा भगवान रामको झण्डा लगाइएको छ ।

चीरकालको प्रतीक्षापछि अयोध्यामा भगवान रामको मन्दिर निर्माण र प्राण प्रतिष्ठा सम्पन्न भएको छ । मिथिलावासीमा भगवान रामको गृह निर्माणले अद्भूत खुशी देखिएको छ । जानकी मन्दिरका महन्त प्राण प्रतिष्ठामा सहभागी हुन अयोध्या पुगेका बेला पुजारीहरुले मन्दिरलाई विशेष रुपमा सिंगारेका छन् । ऋषिकेश दास लगायतका सन्तहरु विशेष पूजा गर्दै उत्सव मनाइरहेका छन् ।

त्रेता युगमा भगवान सीतारामको विवाह सम्पन्न भएदेखि हालसम्म जनकपुरधाममा विवाहमहोत्सवलाई भव्यताका साथ मनाइँदै आएको छ । जनकपुरधाम र अयोध्याधामबीचको सम्बन्ध अलौकिक रहेको स्थानीय सन्त विश्वनाथ शुक्ला बताउँछन् । उनी भन्छन्– ‘नेपाल र भारतको उदय हुनु पूर्व नै मिथिला र अयोध्याबीच रोटीबेटीको सम्बन्ध स्थापित भएको हो ।’ त्रेतायुगकालीन सम्बन्धलाई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक, भेषभूषा लगायतको समानताले अझ प्रगाढ बनाएको उनको कथन छ ।

राममन्दिरमा प्राण प्रतिष्ठा भइरहेको दृश्य जनकपुरधामवासीहरुले सामूहिक रुपमा बिभिन्न चोक र मठमन्दिरबाट देखेका थिए । जनकपुरधामवासीले आप्mनै घरमा भगवानको प्राण प्रतिष्ठा भइरहेको अनुभूति गरेको बताउँछन् । अयोध्यामा भएको प्राण प्रतिष्ठामा सहभागी हुन नपाए पनि जानकी मन्दिरमा रंगोली बनाउँदै दीप सजाउने गरेकी अञ्जली राउतले सीता दिदीको बिहा भएको अयोध्यामा नवनिर्मित मन्दिरमा गृह प्रवेश भएको हामी आफ्नै घरमा गृह प्रवेश गरे जस्तो अनुभूति गरिरहेकी बताउँछिन् ।

समग्र मिथिलावासीका लागि यो अलौकिक उत्सव हो, उनले भनिन्–‘ मिथिलाको घरघरमा दीपोत्सव गरिएको छ , झण्डा फहराएर भगवान सीतारामप्रतिको अगाध श्रद्धा प्रकट गरेका छन् ।’ प्राण प्रतिष्ठा र गृहप्रवेशको तयारी भइरहेको बेला जनकपुरधामबाट विभिन्न सौगातहरु अयोध्या राममन्दिरमा पठाइएको थियो । भगवान रामको माइतबाट पठाइएको सौगातको भारतीय सञ्चार माध्यमहरुले महत्वका साथ चर्चा गरिरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

राममन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी भएका उनले भने–‘ भगवान रामको मन्दिर निर्माण र प्राण प्रतिष्ठाले जनकपुरधामवासीको पनि शिर उठेको छ । लामो समयदेखि टेन्टमा रहेका ज्वाई भगवान राम भव्य मन्दिरमा विराजमान हुँदाको खुशी समस्त मिथिलावासीमा हुनु स्वभाविक हो ।’

Comment


Related News

Latest News

Trending News