अपडेट 
२०८० माघ ९, मंगलवार ०८:२८

विरोध र कडा सुरक्षा ब्यवस्थाबीच सोमवार राजविराजमा मधेश प्रदेश कृषि विश्व विद्यालय भवनको शिलान्यास गरिएको छ । राजविराज नगरपालिका १३ विषहरीयामा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भूमि पूजन गर्दै विश्व विद्यालय भवनको शिलान्यास गरेका छन् । सो अवसरमा अध्यक्ष यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्व विद्यालयले आर्थिक समृद्धिमा योगदान पुर् याउने विश्वास व्यक्त गरे ।

वर्षौंदेखिको सपना साकार हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले भने–‘राजविराजमा आज कृषि विश्व विद्यालयको भूमि पूजन एवम् शिलान्यास गर्न पाएकोमा म अत्यन्तै खुशी छु, दक्ष जन शक्ति उत्पादन गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान पाउनेमा विश्वस्त छु ।’

समारोहमा अपार सहभागिताले आफूमाथि जिम्मेवारी थपिएको भन्दै उनले यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद् दिए । निर्माण कार्य सम्पन्न गरी लक्ष्यप्राप्तितर्फ बढ्न शुभकामना दिँदै जसपा अध्यक्ष यादवले आफूबाट हुनसक्ने सहयोग र पहल कदमी लिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारको गौरवको आयोजना मध्येको सर्वाधिक ठूलो मानिएको उक्त विश्व विद्यालय निर्माणका लागि मधेश प्रदेश सरकारले ३१ करोड संघीय सरकारले ३२ करोड गरी कृल ६३ करोड सहयोग गरेको तथा थप आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै उपेन्द्र यादवकै निर्देशनमा राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । प्रतिकूल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकोले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने उनले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशको सप्तरी जिल्लामा विश्वविद्यालय स्थापना हुनु र भवन निर्माणको पनि शिलान्यास हुनु गौरवको कुरा भएको बताए । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकोले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मको गतिविधिहरुबारे जानकारी गराएका थिए । मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८/०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षीय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चालु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।

विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एक अर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।

यता विश्वविद्यालयको शिलान्यास जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबाट हुने निश्चित भएपछि जनमत पार्टीले विरोध जनाउँदैआएको थियो । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा शिलान्यास स्थलमा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध जनाएका थिए । कार्यकर्ताहरुका साथ नाराबाजी गर्दै सुरक्षा घेरा तोड्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्दा मन्त्री यादवको टाउकोमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्ढीराज नेउपानेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News