अपडेट 
२०८० माघ १०, बुधबार ०७:३५

मधेश प्रदेश सरकारमा रहेको जनमत पार्टीले मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन मंगलवार फिर्ता लिएको छ ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा बसेको दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो । मधेश प्रदेशमा दोस्रो कार्यकालका लागि जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीको सपथ लिएकै दिन जनमत पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा वसन्त कुशवाहाले सपथ लिएका थिए । तर केही महिना विना विभागीय मन्त्री रहेका कुशवाहाले राजीनामा दिएपछि जनमतका महासचिव चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री बनाइएको थियो । दलका नेता महेश यादव शिक्षा तथा संस्कृति मन्त्री रहेका थिए ।

जनमतले समर्थन फिर्ता लिए पनि सरकार भने असुरक्षित छैन् । सत्ता गठबन्धनका घटक दलमध्येका जनमत पार्टी राष्ट्रियसभा सदस्य निर्वाचनको मुखमा आएर मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै बाहिरिएको छ ।

मधेश प्रदेश सरकारमा रहे पनि सरकार विरोधी क्रियाकलाप गर्दै आएका जनमतलाई प्रत्यक्ष परोक्षरुपमा समेत सात दलीय गठबन्धनका नेताहरुले नैतिकतासहित राजनीतिक संस्कार देखाउन आग्रह गर्दै आएका थिए । तर जनमतले भने संघदेखि प्रदेश राजनीतिमा समेत आफ्नो शक्ति संचय गर्दै हस्तक्षेपकारी भूमिका देखाउन थालेपछि मधेश प्रदेश सरकारले पटक पटक सचेतसमेत गराउँदै आएको थियो । जनमतले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमासमेत गठबन्धनलाई बेवास्ता गर्दै आफ्नो उम्मेदवार खडा गरेर चुनौती दिएपछि सत्तागठबन्धनले समेत अनुशासन भइ गठबन्धनप्रतिको इमान्दरिता देखाउन सचेत गराउँदासमेत अराजक गतिविधि गरेको भन्ने कुरा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुधार गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी फिर्ता लिइ गठबन्धनलाई सहयोग हुने गरी राजनीतिक संस्कार देखाउन अपिल नै गरे ।

जनमत पार्टीको रवैया अराजक बन्दै गएको र सत्तागठबन्धन तथा सरकारप्रति समेत सकारात्मक नरहेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजनिकरुपमै जनमतको कार्यशैलीलाई लिएर असन्तुष्टि पोख्दै आएका थिए । मुख्यमन्त्री यादवले मधेश सरकारको एकवर्षे कार्यकालसहितको प्रगति विवरण सार्वजनिकीकरण गर्न आयोजना गरेको पत्रकार सम्मेलनमै जनमतका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवको निर्देशनमा उनका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा मुख्यमन्त्री यादवले तत्काल राजीनामा दिन निर्देशन नै दिए ।

मुख्यमन्त्रीले सार्वजनिकस्थलमा विभिन्न कार्यक्रममा जनमतका मन्त्रीहरुलाई सरकारबाट हट्न पटक पटक भन्दै आएका थिए । राष्ट्रियसभा सदस्य निर्वाचन समन्वय समिति गठबन्धन दलको कार्यक्रममा समेत मुख्यमन्त्री यादवले जनमत पार्टीलाई सरकारमै बसेर प्रतिपक्षी बन्ने काम गर्ने गरेकाले तत्काल प्रदेश सरकारबाट बाहिरिनुपर्ने दबाब दिए ।

सत्तागठबन्धन दलका संयोजकसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभा सदस्य निर्वाचनपछि जनमत पार्टीको विकल्पबारे समीक्षा गरेर आगामी कदम चाल्ने बताएका थिए । जनमतबाट मधेश सरकारमा सहभागी भएका मन्त्रीहरुलाई समयमै सरकारबाट नबाहिरिएमा हटाइने सार्वजनिकरुपमै मुख्यमन्त्री यादवले भनेको केही दिनमै विभिन्न आरोप लगाउँदै मंगलबार प्रदेश सरकारबाट बाहिरिएका छन् ।

जनमतले सरकारबाट बाहिरिने दाउ खोजिरहेकै बेला राजविराजमा मधेश कृषि विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यस गर्ने क्रममा जनमत पार्टीले दोहोरो चरित्र देखाउँदै आफ्नै सरकारको विरोधमा कार्यक्रम नै अवरुद्ध हुने गरी प्रदर्शन गर्दा प्रहरीसंग झडप भएको थियो । मधेश प्रदेश सरकारबाट बाहिरिदैँ जनमतबाट मन्त्री रहेकाहरुले राजीनामा–पत्र बुझाउँदै मुख्यमन्त्री सरोजकुमार यादवमाथि विभिन्न आरोप लगाएका छन् ।

समर्थन फिर्ता लिएको र प्रदेश सरकारबाट बाहिरिएको पत्र मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई बुझाएको थियो । यस भन्दा पहिला नेकपा एसलाई सरकारमा ल्याउनकालागि भूमि व्यवस्था तथा सहकारी मन्त्री बसन्त कुशवाहालाई राजीनामा दिलाइएको थियो । उनलाई केही महिना सम्म विना विभागीय मन्त्री बनाएर राखियो पछि राजीनामा दिन लगाइएको थियो ।

जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री यादव, श्रम तथा यातायात मन्त्री चन्दन सिंह र कृषि तथा सहकारी राज्यमन्त्री संजय यादव थिए । मधेश प्रदेशमा जनमतका १३ सांसद छन् ।

Comment


Related News

Latest News

Trending News