अपडेट 
२०८० माघ ११, बिहीबार ०८:१०

राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार चुनाव हुने भएको छ । चुनावका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

मधेश प्रदेशबाट चुनिने २ जना सदस्यका लागि मतदान हुने छ । एकजना महिला र एकजना अन्य सदस्य पदका लागि हुने मतदानमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले भाग लिने छन् ।

मतदानका लागि प्रदेशका अधिकांश मतदाताहरु मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइपुगेका छन् । उम्मेदवारी दिएका दलहरुले मतदाताहरुलाई आ–आफ्नो सुविधा अनुसारको होटेलमा राखेका छन् ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका एकजना र जनता समाजवादी पार्टी(जसपा)का एकजना सदस्यको पद रिक्त भएको हो । त्यसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसले धनुषा जिल्लामा घर भएका पुराना नेता आनन्द प्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । जसपाले रौतहट जिल्लाकी पूजा चौधरीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले एक्लै दुवै पदका लागि उम्मेदवार उठाएको छ । एमालेबाट अन्यमा धनुषाकी विजयेता झा र महिलामा पर्साकी उषा देवी थरुनीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले रामशंकर महासेठलाई अन्य कोटाबाट उम्मेदवार बनाएको छ । उनी जनकपुरधामका बासिन्दा छन् ।

संघीय गठबन्धन सरकारमा सहभागी रहेको जनमत पार्टीले भने गठबन्धन भन्दा अलग भएर उम्मेदवारी दिएको छ । राष्ट्रिय सभाको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख/उपप्रमुखहरुले मतदान गर्ने भए पनि उनीहरुको मतभार भने फरक छ । प्रदेश सभासदस्यको मतभार ५३ र पालिका अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ ।

मधेश प्रदेश सभामा रहेका प्रदेश तर्फ सदस्य तर्फको मतदाता संख्या १ सय ७ रहेको छ । त्यसैगरि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतदाता संख्या २ सय ६७ कायम रहेको छ । मधेश प्रदेशमा कुल मतदाता संख्या ३ सय ७४ रहेको छ ।

सो अनुसार मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ६ सय ७१ र गाउँ पालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको मतभार ५ हजार ७३ रहेको छ । कुल मतभार १० हजार ७ सय ४४ रहेको छ । दलगत रुपमा कांग्रेसको प्रदेश सभा तर्फ १ हजार १ सय ६६ मतभार र स्थानीय तर्फ १ हजार ९ सय ७६ मतभार गरी कुल ३ हजार १ सय ४२ मतभार रहेको छ ।

रौतहटमा कांग्रेसका एकजना अध्यक्ष निलम्बनमा परेकाले १९ मतभार घटेको छ । त्यसैगरि नेकपा एमालेको प्रदेश सभा तर्फ १ हजार २ सय ७२ मतभार र स्थानीय तर्फ १ हजार ८३ मतभार रहेको छ । एमालेको कुल मतभार २ हजार ३ सय २५ रहेको छ । जसपाको प्रदेश सभा तर्फ १ हजार ७ र स्थानीय तर्फ ९ सय ३१ मतभार रहेको छ ।

सप्तरीमा जसपाका ३ जना मेयर निलम्बनमा परेकाले ५७ मतभार घटेको छ । माओवादीको प्रदेश सभा सदस्य तर्फको मतभार ४ सय ७७ र स्थानीय तर्फ ३ सय ४२ गरी कुल ८ सय १९ मतभार रहेको छ । त्यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)को प्रदेश सभा तर्फ ४ सय ७७ र स्थानीय तर्फ ४ सय ५६ गरी कुल ९ सय ३३ रहेको छ ।जनमत पार्टीको प्रदेश सभा तर्फ ६ सय ८९ र स्थानीय तर्फ ५७ गरी कुल ७ सय ४६ रहेका छन् । नेकपा एकीकृत समाजवादी(एस)को प्रदेश सभा तर्फ ३ सय ७१ र स्थानीय तर्फ २सय ९ गरी कुल ५ सय ८० मतभार रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा तर्फको कुल ५३, राप्रपाको प्रदेश सभा तर्फको कुल ५३ र संघीय समाजवादीको प्रदेश सभा तर्फको कुल ५३, एक जना स्वतन्त्र सभासदको कुल ५३ मतभार रहेको छ । विवेकशिल साझा पार्टीको कुल ३८ मतभार रहेको छ । सत्तारुढ ६ दलको कुल मतभार ७ हजार ४ सय ४६ रहेको छ ।

मतदानमा क्रस मतदानको संभावना न्यून रहने र मतबदरपनि न्यून हुने देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार बिहान ९ बजेदेखि अपरान्ह ३ बजे सम्म सबै प्रदेशमा मतदानको समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा घोषणा गरिनेछ ।

मधेश प्रदेशका लागि जनकपुरधाम स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र भवनमा मतदान केन्द्र तोकिएको छ । सुरक्षाका लागि कडा व्यवस्था गरिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जनाए अनुसार मतदाता, उम्मेदवार हरुलाई निर्वाध रुपमा मतदान गर्न सुरक्षाको सम्पूर्ण तयारी पूरा गरिएको छ ।

मतदातावाहेकका व्यक्तिहरुलाई मतदान स्थल वरिपरि प्रवेश निषेध गरिएको छ । सवारी साधनलाई पनि मतदान स्थलको भन्दा टाढा नै राखिने व्यवस्था गरिएको छ । मतदान स्थलमा मतदाताहरुलाई सहज रुपमा पु¥याउने प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News