अपडेट 
२०८० माघ ११, बिहीबार ०८:२१

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभू साहले आईटी आर्मी साईबर सेनालाई हाईअलर्टमा बस्न निर्देशन दिएका छन् ।

जनकपुरधाममा बुधबार आईटी आर्मी नेपाल धनुषाको सपथ ग्रहण तथा विशेष कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी घोषणा गरेको बन्द कार्यक्रमलाई सफल बनाउनका लागि आईटी आर्मीको अह्म भूमिका रहेको बताए । बन्दको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा आईटी आर्मीलाई राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान स्थल वरिपरी अनुगमन गरी सो निर्वाचनमा सहभागी हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख एवं उपप्रमुखसहित सरकारी सवारीसाधनलाई तोडफोड गर्ने योजना रहेको उनले बताए ।

उनले आईटी आर्मी साईबर सेनाको स्वरुप रहेकाले निजी सवारी साधनमा तोडफोड नहुने गरी सम्बन्धित मतदाता तथा नेतालाई लक्षित हुने गरी सरकारी सवारीसधानमाथि धावा बोलेर बन्दलाई सफल बनाउन निर्देशन दिए । आईटी आर्मी नेपालका सेनाहरुले सर्लाहीको सदरमुकामसहित ढल्केवर, पिडारी चोक, रामानन्द चोक लक्षित गरी सरकारी सवारीसाधन तोडफोड गर्नका लागि अध्यक्ष साहले निर्देशन दिए ।

योजनावद्धरुपमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानलाई लक्षित गरी गरिएको बन्दको क्रममा सरकारी गाडीलाई जनकपुरधाममा छिर्न नदिनका लागि हरेक युक्ति अपनाउनलाई समेत उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिए । उनले बैंकर्सले ऋणका नाममा चर्को ब्याज असुल्ने गरेको, बैंक तथा वित्तीय संघसंस्था एवं सहकारी संस्थाले आमजनताको ढाड सेक्ने गरी जथाभावी कामकारवाही गरे पनि कुनै पनि किसिमको समस्या समाधान गर्न आतुर नरहेकाले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर बन्दको घोषणा गरेको स्पष्ट पारे । उनले आमजनता मिटरब्याजी र विकास निर्माणको नाममा सरकारले मनोमानी गरेकाले बाध्य भएर बन्दको घोषणा गरिएको कार्यकर्तालाई सुनाए ।

सो कार्यक्रममा आइटी आर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, आजपा मधेश प्रदेशका अध्यक्ष सुधीर यादव, आजपा नेपाल धनुषाका सह इन्चार्ज श्रीचन्द्र मुखिया, आजपाका महोत्तरी अध्यक्ष विजय साहलगायतकाहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा आईटी आर्मी नेपाल धनुषाका अध्यक्ष प्रेम साहको नेतृत्वमा १ सय ५१ जिल्ला सदस्यीयसहितका पदाधिकारीलाई अध्यक्ष साहले सपथ ग्रहण गराएका थिए । त्यस्तै आजपा धनुषाले जानकी मन्दिरमा सरसफाई कार्यक्रमसमेत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News