अपडेट 
२०८० माघ १२, शुक्रबार ०८:०९

राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी बन्द घोषणा गरेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहकी श्रीमती रिना देवी साहले मतदान गरी बन्दको अवज्ञा गरेकी छन् ।

उनी एमालेबाट रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख हुन् । निर्वाचनमा सहभागी हुन आएका मतदातालाई मतदान स्थलमा पुग्न नदिने योजना बुनेका श्रीमान प्रभु साहको सपनामाथि उनकै श्रीमती नगरप्रमुख रिना देवीले मतदान गर्नु श्रीमानको आदेशको अवज्ञा गरेको कतिपयले टिप्पणी गरेका छन् ।

यसक्रममा आजपाले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरी गरेको मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । राष्ट्रियसभा निर्वाचनलाई विथोल्नका लागि मधेश बन्दको आह्वान गरे पनि शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जनकपुरधाममा बिहीबार बिहान बन्द गराउँदै हिडेका आजपाका नेता तथा कार्यकर्ताहरुलाई रामानन्द चोकबाट प्रहरीले पक्राउ गरेको थियो । जनकपुरधाम स्थित रामानन्द चोकमा पसलहरु बन्द गराउँदै हिडेका आजपाका दर्जनौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको थियो ।

बन्द गराउने क्रममा जनकपुरको रामानन्द चोकमा एक सरकारी सवारीसाधन तोडफोड गर्ने क्रममा ६८ जना नेता– कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य विजय साहले जानकारी दिए । पक्राउ परेका आजपाका ६८ जना नेता तथा कार्यकर्ताहरुलाई बिहीबार साँझ रिहा गरेको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन आवेले जानकारी दिए । पक्राउ गरेका आन्दोलनकारीलाई राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएपछि छाडिएको उनले बताए ।

बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायतका माग गर्दै मधेश बन्द गरिएको आजपाका नेता साहले बताए । तर अध्यक्ष प्रभु साहले भने बन्द पूर्णरुपमा सफल भएको दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News