अपडेट 
२०८० माघ १३, शनिबार १७:२६

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको दाबी गरेका छन् ।

वीरगन्जमा शनिबार आयोजित कार्यक्रममा गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका हुन् ।

उनले भने, ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’

शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे । बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाई छ ।

‘आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु । त्यसै आशय अनुरूप मैले ‘चिरकाल सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिएँ,’ उनले भनेका छन् ।

शाहले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

‘हामी देश मै छौँ , आज पनि देश मै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नति होस् , भेदभाव रहित ढङ्गले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ,’ उनले भने, ‘आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन , यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ ।’

Comment


Related News

Latest News

Trending News