अपडेट 
२०८० माघ १९, शुक्रबार ०७:४९

शहीद सप्ताह बुधबारबाट सकिएको छ । देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति सम्मान गर्न देशैभर माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइएको थियो । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था एवं त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै शहीद सप्ताह मनाइएको थियो ।

धनुषाका दुई शहीदलाई भने राज्यबाट उपेक्षित गरिएको स्थानीयको भनाइ छ । धनुषाको धनुषाधाम नगरपालिका–६, उमाप्रेमपुरका शहीद ईश्वर लामा र पदम लामाको नाम सूचीमा समावेश नगरिएकाले स्थानीय दुःखी भएका छन् । शहीदमध्ये ईश्वरका भाइ राजकुमार लामाले पहुँच नपुगेकाले ईश्वर र पदमको नाम शहीदको सूचीमा समावेश हुन नसकेको बताए ।

दुवैलाई शहीदको सूचीमा राख्न स्थानीयवासीको सहभागितामा राजनीतिक दलका शीर्ष नेतालाई भेटेर पहल गरिदिन आग्रह गर्दै आएको उनले बताए । शहीदको योगदान र पहिचान कायम गराउन सहयोगको अपिल गर्दै राजकुमारले भने–‘शहीद कुनै पार्टी विशेषको हुँदैन भन्ने हाम्रो बुझाइ छ । राष्ट्र र जनताका लागि जीवनको आहुति दिएका हुन्छन् । उनीहरूले पनि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि जीवनको आहुति दिएका छन् ।’ उनका अनुसार २०४२ साल पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा होमिएका दुवै जनालाई तत्कालीन पञ्चायती शासकले षड्यन्त्रमूलक ढङ्गले हत्या गरी लास बेपत्ता पारेका थिए ।

२०४२ सालमा कांग्रेसले घोषणा गरेको सत्याग्रह आन्दोलनमा भाग लिएका दुवै जना जेठ ११ गते गिरफ्तारीमा परेका थिए । तत्कालीन पञ्चायती प्रशासनले गिरफ्तार गरी विभिन्न यातना शिविर, अस्थायी जेल तथा अड्डासार गर्ने बहानामा दुवै जनाको हत्या गरी लास बेपत्ता गरेको ईश्वर लामा र पदम लामाका विषयमा भएका अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको उनको भनाइ छ ।

यसै गरी हिरासतमा भेट भएका विमलेन्द्र निधि, रामहरि जोशी, रामराजाप्रसाद सिंह, मोहनचन्द्र अधिकारी, मार्सलजुलुम शाक्य, राधाकृष्ण मैनाली, दमननाथ ढुङ्गाना, आनन्दप्रसाद ढुङ्गाना, रेवतीरमण सुवेदी, सिपी मैनाली, राजेश्वर नेपाली, लोककृष्ण भट्टराईलगायत ४० जनाले लेखेका संस्मरणमा उनीहरूको योगदानको चर्चा गरेका छन् । उनीहरूले ईश्वर लामा र पदम लामालाई राज्यले अहिलेसम्म शहीदको सूचीमा नपारेकामा आश्चर्य प्रकट गरेका छन् ।

त्यसअघि २०३१ जननायक विश्वेश्वरप्रसाद कोइरालाले आह्वान गरेको सशस्त्र सङ्घर्षमा संलग्न हुँदा ईश्वर लामा गिरफ्तारीमा परेर छ वर्षभन्दा बढी कठोर जेल जीवन बिताएका थिए । त्यस बखत उनीलाई फाँसी वा जन्मकैद हुन सक्ने राजकाज मुद्दा लगाइएको थियो । २०३७ साल वैशाख १ गते ईश्वर आममाफी पाएर कारागारमुक्त भएका थिए ।

जेलबाहिर आएपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेद्रनारायण निधिसँग प्रत्यक्ष सम्पर्कमा रहेर पार्टी सङ्गठन सुदृढीकरण र आन्दोलन विस्तारका लागि अहोरात्र खटेका थिए ।

२०३९ सालमा बिपीको देहावसानपछि जिल्लामा नै रहेर राजनीतिक अभियानमा जुटेका उनी त्यस बखत जिल्ला कांग्रेस धनुषाको कार्यसमितिका कार्यकारिणी सदस्यसमेत रहिसकेको उनीसम्बन्धी गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । २०४२ सालमा पञ्चायती प्रशासनले पक्राउ गर्दा ईश्वर २९ वर्षका थिए भने पदमको उमेर ३० वर्ष थियो । पहुँच नपुगेर उनी दुवैको नाम शहीदको नामावलीमा समावेश हुन नसकेको स्थानीयको आरोप छ ।

Comment


Related News

Latest News

Trending News