अपडेट 
२०८० माघ २१, आईतवार ०८:१५

धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।  सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ ।

निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामा भएको दाबी गरे । उनका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । त्यसको लम्बाई एक हजार ४५३ मिटर छ । अब यो पुल निर्माण भएसँगै यो झोलुङ्गे पुल देशकै लामो भएको उनले बताए ।

संघीय सरकारको २८ करोड लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाण्डुले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभन्दा छ महिना अगावै पुल निर्माणको कार्य सम्पन्न भएको जानकारी दिए । ठेक्का सम्झौता गरेर २०७९ असोज १ गतेदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सकिएको उनले बताए । पुल सञ्चालनमा आएपछि जनकपुरधाम र सिरहा आवतजावत गर्न वर्षौँदेखिको समस्या हट्ने स्थानीय मुकेश शर्माको भनाइ छ । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उनले सिरहाबाट ३५ किलो मिटरको दूरीमा रहेको जनकपुरधाम पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्ने जानकारी दिए ।

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पमा निर्माण भएको झोलुङ्गे पुलको वरदान साबित भएको सो क्षेत्रका सर्वसाधारणको भनाइ छ । पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द् धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने अर्का स्थानीय बिन्दे मुखियाले बताए ।

Comment


Related News

Latest News

Trending News