अपडेट 
२०८० माघ २४, बुधबार १७:५१

जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ ।  जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।

‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष राउतले जेठ १५ गते नौ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।

उनले बुधवार जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्‍यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’

उनले नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।

एक सदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष प्रधानमन्त्री, निर्वाचन अधिकृत, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग समेत गरेका छन् । राउतले प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्न र मन्त्री नराख्न माग गरेका छन् ।

देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही वञ्चित नहोस् भनी सुनिश्चित गर्न समेत उनले माग गरेका छन् ।

देशकै शीर्ष नेताहरूको संलग्नतामा बालुवाटार काण्ड, भुटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर बढ्दै गएको बताउँदै अध्यक्ष राउतले त्यसमाथि कुनै छानबिन तथा कारबाही नभएको गुनासो गरेका छन् ।

Comment


Related News

Latest News

Trending News