अपडेट 
२०८० माघ २६, शुक्रबार ०७:०९

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासनले मुलुकको समृद्धिले गति लिन नसकेको बताएका छन् ।

बर्दिबासमा बिहीबार आधारशीलाको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले आर्थिक समृद्धिलाई आधार बनाएर सरकारले काम गरिरहेको बताए ।

भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै गृहमन्त्री श्रेष्ठले सरकारले यसका लागि क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने– ‘गृहमन्त्रालय सम्हालेकै दिन पञ्चायतकालदेखि खाइपाइ आइरहेको गृहमन्त्रीको सेवासुविधा पनि खारेज गरेँ, उनले अघि थप्दैँ भने– ‘शरणार्थी प्रकरणदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकारले अडिग भएर निर्धक्कतापूर्वक काम गरिरहेको छ ।’

जनताले सरकारलाई बेलाबखत खबरदारी गरिरहेकै कारण सरकारमा आत्मबल सञ्चार भएको हुनाले पैसावाला, राजनीतिमा पहुँच भएकाहरूले सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको उनको भनाइ थियो । उनले सामन्तवादको निकृष्ट सोचकै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागिपरेको बताए ।

गृहमन्त्री श्रेष्ठले ५ हजारभन्दा बढी पीडितहरुलाई अहिलेसम्म न्याय दिलाइसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै संचालन गरेको बताए । अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनप्रति संकेत गर्दै गृहमन्त्री श्रेष्ठले आन्दोलनले सरकारलाई सहयोग भए तापनि गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएकाले यस प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा संग्लनहरुको छानबिन भइरहेको समेत उनले बताए ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको बताएका छन् । बर्दिबासमा धनुषा– महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रदेशका प्रमुखहरूलाई संयुक्तरुपमा निर्देशन दिँदै गृहमन्त्री श्रेष्ठले छिट्टै नै प्रदेश प्रहरी समायोजन हुने बताए । उनले धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड् कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न सुरक्षानिकायका अधिकारीहरुलाई निर्देशन दिए ।

सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाही गर्न समेत उनले निर्देशन दिए । सरोकारवालाहरुको रिपोर्टिङ सुनेपछि गृहमन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रण तथा कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसंग समन्वय गरेर काम गर्न निर्देशन दिए ।

Comment


Related News

Latest News

Trending News