अपडेट 
२०८० माघ २८, आईतवार ०८:४४

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसंग गृह मन्त्रालयको टोलीले बयान लिएको छ । फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले शनिबार सवा दुई घण्टासम्म बयान लिएको छ । झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएपछि नागरिकता विवाद प्रकरणमा गृह मन्त्रालयको टोलीले मेयर सिंहसंग जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको छ ।

गृह मन्त्रालयको टोलीले मेयर सिंहसंग सोधपुछसहितको कागजात गराएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसक्रममा गृह मन्त्रालयबाट गठित २ सदस्यीय छानबिन टोलीले सिंहविरुद्ध परेको जाहेरीसंग सम्बन्धित कागजातको आधारमा सोधपुछ गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाएका छन् । गृह मन्त्रालयको टोलीले लिएको बयानमा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकार्दै उनले आफुले दुई वटा विवाह गरेको बताए । गृह मन्त्रालयको टोली समक्ष मेयर सिंहले भने, ‘रुविना श्रेष्ठ मेरै छोरी हो, उसको जन्मदर्तामा पनि मेरै नाममा छ । मैले दुईवटा बिहे गरेको छु ।’

मेयर सिंहसंग बयान लिइसकेपछि गृह मन्त्रालयको टोलीले सम्बन्धित अन्य व्यक्तिसंग सोधपुछ गरिरहेको स्रोतले बताएको छ । यसअघि नागरिकता बनाउन सिफारिस गरिएका वडा कार्यालयसंग पनि गृह मन्त्रालयको टोलीले बयान लिएको थियो । वीरगञ्ज महानगरपालिकाका मेयर सिंहले झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै गृह मन्त्रालयमा पुस २६ गते उजुरी परेको थियो । सो उजुरीको आधारमा गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहने गरी दुई सदस्यीय छानबिन टोली गठन गरी वीरगञ्ज खटाइएको छ ।

वीरगञ्जको वडा नम्बर ३ बाट हुँदै नभएको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको मेयर सिंहमाथि आरोप रहेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको छ । सो नागरिकता ०७५ साल साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता जारी गरेको छ । मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविनाको नागरिकतासम्बन्धि प्रमाणसहितका कागजातहरुसमेत नष्ट गरेको आरोप छ ।

किर्ते नागरिकता दिलाएको समाचार प्रकाशन भएदेखि नै मेयर सिंह ‘सही समयमा, सही जवाफ दिने’ भन्दै पञ्छिदै आएका थिए । उनले पहिलो पटक बयानको क्रममा स्वीकार्दै आफुले दुई वटा विवाह गरेको र रुविना आफ्नै छोरी भएको बताए । मेयर सिंहले निर्वाचन कार्यालयदेखि मुख्यमन्त्रीको कार्यालयसम्म बुझाएको विवरणमा एउटा श्रीमती मात्र भएको लिखित पेश गरे पनि दुई वटा विवाह गरेको गृहमन्त्रालयको टोली समक्ष बयान दिएका छन् ।

Comment


Related News

Latest News

Trending News