अपडेट 
२०८० माघ २८, आईतवार १४:०१

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भ्रष्टाचार जस्तो विकृति रोक्न सबै सरोकारबालाहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसमा आयोगद्वारा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मिश्रले मुलुकमा विधिको शासन स्थापना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । आमजनताले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्न समेत उहाँले आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिनुहुँदै यसलाई रोक्न सबै एकजुट हुनुपर्ने आवश्यक्तामा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने प्रयोजनले नै आफूहरुले सुशासन ऐन ल्याउन लागेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री यादवले घुस खानेभन्दा घुस खुवाउनेहरु पनि सचेत हुनुपर्छ हुनुपर्ने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणको लागि संचारकर्मीहरुसँग समेत सहयोगको अपील गर्नुहुँदै उहाँले सही समाचार सम्प्रेषन गरिएको खण्डमा सोही समाचारको आधारमा भ्रष्टलाई कारबाही गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले नेता र कर्मचारी इमान्दार भइदिएको खण्डमा भ्रष्टाचार आफै नियन्त्रण हुने दावी गर्नुभयो ।

कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले भ्रष्टाचारविरुद्ध नैतिक शिक्षाको आवश्यक्ता औल्याउनुभयो । सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेकाले कानूनभन्दा मांसिकता परिवर्तन गरेर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले नियम कानूनको पालना गरेर जनताको अपेक्षा पूरा गर्न कर्मचारीहरुसँग आग्रह गर्नुभयो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले देशको विकास र समृद्धिको अवरोधको रुपमा रहेको भ्रष्टाचारलाई निवारण गर्ने मुख्य कर्तव्य सरकारको र कार्यालय प्रमुखहरुको रहेको बताउनुभएको थियो ।

सो अवसरमा माविस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News