अपडेट 
२०८० माघ २९, सोमबार ०७:५०

वीरगञ्ज स्थित नारायणी अस्पतालमा रहेको प्रसूति विभागमा २० शैयाको सुविधा सम्पन्न पोष्ट नेटल केयर (पिएनसी) वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको छ ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नारायणी अस्पतालामा पिएनसी वार्डको निर्माणले अस्पतालमा बिरामीको उपचार र सेवामा थप सहजता पुग्ने विश्वास व्यक्त गरे । सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा सरकारसंगै निजी क्षेत्रको सहकार्य बढ्दै गएको बताउदै उपराष्ट्रपति यादवले बिरामीले गुणस्तरीय उपचार पाउनका लागि सरकारी अस्पतालको पूर्वाधारसंगै बिरामीले उच्च सेवा पाउने आशा व्यक्त गरे ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सामाजिक दायित्व अन्तर्गत उद्योगीहरुले कर सुविधा पाए पनि कागज मिलान गर्ने गरेको गुनासो व्यक्त गर्दै केएनसीले सामाजिक दायित्व निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । मन्त्री रिजालले वीरगञ्जमा मधेश प्रदेशकै ठूलो ट्रमासेन्टर अस्पताल छिट्टै निर्माण हुने जानकारी दिए ।

अस्पतालमा ६९ शैयाको प्रसूति विभाग सञ्चालनमा थियो । प्रसूति गराइए पछि आमा र शिशुलाई कम्तीमा २४ घण्टा अस्पतालमै राख्नु पर्ने नियम भए पनि पिएनसी वार्ड नहुदाँ तत्कालै डिस्चार्ज गर्नुपर्ने बाध्यता थियो । तर अब पिनएसी वार्ड सञ्चालनमा आएपछि आमा र शिशुलाई उक्त सेवा दिन सहज हुने मेसु चितरञ्जन साहले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै नारायणी अस्पतालको प्रसूति विभागमा पिएनसी वार्डको अभावरहेको कारण सुत्केरी उपचारमा समस्या भएको जानकारी आए पछि केएनसी जापान प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत ४५ लाखको लगतमा उक्त वार्ड निर्माण गरेको सञ्चालक अशोक बैद्यले बताए । सम्झौतामा वार्डको निर्माण तीन महिनामा गरिने उल्लेख भए पनि दुई महिना भित्रै उक्त वार्ड निर्माण गरी हस्तान्तरण गरिएको बैद्यको भनाइ थियो । अस्पतालमा पिएनसी वार्ड सञ्चालनमा आएपछि उक्त वार्डबाट महिनामा ६ सय र वर्षमा सात हजार दुई सय सुत्केरीले सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष धीरज कुमार गुप्ताले बताए ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष गुप्ताको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा पूर्वमन्त्री तथा जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अजय चौर सिया, प्रतिनिधि सभा सदस्य प्रभु हजरा, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम लगायतको पनि उपस्थिति थियो ।

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताएका छन् । वीरगञ्ज महानगरपालिका–१४ पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु भएको सीताराम नाम सङ्कीर्तन महायज्ञ १०८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजनलगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद् भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताए । आपसी खिचातानी, मनमुटावलगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमनचयन र भातृत्व प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रबद्र्धन होस् भन्ने कामनासमेत गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउदै धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरे । वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिए । महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिलालगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक कुर्मीले बताए ।

Comment


Related News

Latest News

Trending News