अपडेट 
२०८० माघ २९, सोमबार १९:५१

नेपालमा गरिबीको दर २० दशमलव २७ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्याङ्क सार्वजनिक गर्दै गरिबी दर घटेको बताएको हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो । प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।

त्यस्तै, शहर र गाउँको तुलनामा सबैभन्दा कम काठमाडौमा सात प्रतिशत र सबैभन्दा धेरै सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरिब रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणका अनुसार धनी र गरिबबीचको असमानता नाप्ने जिनी सूचक शून्य दशमलव ३० पुगेको छ । यसले असमानता केही घटेको देखाएको हो ।

यसअघि जिनी सूचक शून्य दशमलव ३३ थियो । जिनी सूचक शून्य हुँदा समान अवस्था बुझिन्छ भने जिनी एक हुनु भनेको असमानता चरम अवस्थामा पुग्नु हो । सर्वेक्षणले दुई प्रतिशत परिवारसँग कार र २५ प्रतिशत परिवारसँग मोटरसाइकल रहेको देखाएको छ । २०७९ सालको असार १ गतेदेखि २०८० जेठसम्म ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

नेपालमा २०३४ सालदेखि गरिबी सर्वेक्षणको काम शुरु भएको हो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा गरिबी ४९ प्रतिशत पुगेको थियो । कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News