अपडेट 
२०८० फाल्गुन २, बुधबार ०७:३८

श्रीमती लुकाएर राखेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह श्रेष्ठ र उनकी कान्छी श्रीमती रीता भट्टराई सरकारी कागजात किर्ते जालसाजी गरेको अभियोगमा पक्राउ पर्ने संभावना बढेको बताइन्छ । मधेश प्रदेशको एकमात्र महानगरपालिकाका मेयर राजेशमान सिंहले गत हप्ता मात्र भट्टराई कान्छी श्रीमती रहेको आधिकारिक रुपमा स्वीकारेका थिए । गलत कागजात तयार गरी सिंहले रुवीना श्रेष्ठलाई छोरी भनेर वंशजको आधारमा नागरिकता दिलाएका छन् । तर उनले कान्छी श्रीमती रहेको विषयमा सरकारी निकायहरुलाई समेत ढाँटेका छन् ।

नागरिकता बनाउन सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेका कागजातहरु समेत गायब गरिएको बताइएको छ । नागरिकता छानबिनका लागि गृहमन्त्रालयले पठाएको टोली अनुसन्धान गरी फर्किसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साले थालेको छानबिन प्रकृया अगाडि बढाइएको छैन् । नागरिकताको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयबाट मागेको कागजातहरु समेत उपलब्ध गराइएको छैन् ।

पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले सम्बन्धित निकायहरुबाट आवश्यक कागजातहरु माग गरिएको तर प्राप्त भइनसकेको बताए । जिल्ला प्रशासन कार्यालयमा नगारिकता सम्बन्धी सम्पूर्ण कागजातहरु रहने भए पनि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कागजातहरु प्रहरीलाई उपलब्ध गराउन आलटाल गरेको बताइन्छ । सिंहलाई जोगाउन ठूलो आर्थिक चलखेल भइरहेको छ । त्यसमा केही अधिकारीहरु पनि लागेको बताइन्छ ।

तर सरकारी कागजात किर्ते गरी रुवीना श्रेष्ठको बनाइएको जन्मदर्तामा उम्किन सहज नभएको अधिकारीहरुले पनि बताउन थालेका छन् । एसपी शाहले जन्मदर्ता सम्बन्धी उजुरी आएको बताउँदै त्यसको अनुसन्धान प्रकृया अगाडि बढाइसकिएको बताएका छन् । जन्मदर्ता सम्बन्धी कागजातहरु पनि सम्बन्धित निकायबाट झिकाउन पत्राचार गरिएको उनले बताए । आफ्नो तर्फबाट अनुसन्धानको प्रकृयामा ढिलाइ नभएको बताउँदै उनले भने–‘अन्य निकायहरुबाट समयमा कागजात प्राप्त नहुँदा ढिलाइ भएको देखिएको हो ।’

सिंहले कान्छी श्रीमती स्वीकारेकी रीता भट्टराईले २४ घण्टा समेत नबित्दै जिल्ला अदालत पर्सामा अंश माग गर्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । भट्टराईले अदालतमा छोरी रुवीना श्रेष्ठको पेश गरेकी जन्मदर्ता सरकारी कागजात र छाप किर्ते गरी बनाइएको पाइएको छ । जन्मदर्तामा उल्लेख गरिएको भट्टराई र सिंहको नागरिकता नम्बर समेत गलत उल्लेख छ । जन्मदर्ता प्रमाणित गर्ने तत्कालीन वडा नम्बर ३ का सचिव भिखारी रायको हस्ताक्षर समेत किर्ते गरिएको छ । रायले आफू जन्मदर्ता नबनाएको सार्वजनिक रुपमा वयान दिइसकेका छन् । तर उनलाई जन्मदर्ता बनाएको स्वीकार गर्न मेयर सिंहले चरम दबाब सृजना गरेको बताइन्छ ।

अदालतमा पेश गरिएको जन्मदर्ताको सक्कल प्रमाण पत्र उपलब्ध गराउन वीरगञ्ज महानगरपालिकालाई जिल्ला प्रहरी कार्यालयले मंगलवार पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालयले फाइल खोज्नै नसकेको नागरिकता प्रकरणमा किर्ते गरी बनाइएको जन्मदर्ताको सक्कली प्रमाण पत्र वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउनेमा अधिकांशको विश्वास देखिदैन् ।

जिप्रकाका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कारवाही सम्बन्धी सूचना चुहाउने गरेको आरोप लागेको छ । स्थानीय बासिन्दाहरुले मेयर सिंहलाई जोगाउन नै कान्छी श्रीमतीको वैधता पाएकी रीता भट्टराईले जिल्ला अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी बताइन्छ । यद्यपि यस सम्बन्धमा भट्टराईले औपचारिक धारणा सार्वजनिक गरेकी छैनन् ।

नागरिकता छानबिन र जन्मदर्ताको किर्ते प्रमाणपत्र बारे प्रमुख जिल्ला अधिकारी भुसालसँग पटक–पटक सम्पर्क गर्न गरेको प्रयास सफल हुन सकेन् । उनले प्रयोग गर्ने सरकारी मोबाइल ९८५५०७७७७ मा सन्देश पठाउँदा समेत कुनै प्रतिकृया जनाएनन् । सरकारी कागजात किर्ते गरी त्यस आधारमा नागरिकता बनाउने मेयर सिंहलाई कडा कारवाही हुनुपर्नेमा प्रशासनले जोगाउन लागेको आरोप जनमत पार्टीका नेता मुकेश द्विवेदीले लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News