अपडेट 
२०८० फाल्गुन ३, बिहीबार ०७:४१

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को एउटा अभिव्यक्तिले संघीय गठबन्धन भत्किने त्रास नेताहरुमा देखिएको छ । प्रचण्डले कांग्रेससितको गठबन्धन माओवादीका लागि फलदायी नभएको धारणा पार्टीको आन्तरिक बैठकमा राखेपछि नेताहरु सशंकित बनेका छन् ।

कोशी प्रदेशमा गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले माओवादीका उम्मेदवारलाई मतदान नगरेको आरोप लागेको छ । राष्ट्रिय सभाको चुनावपछि आक्रोशित बनेका प्रधानमन्त्री प्रचण्डले खुल्ला रुपमा नै असन्तुष्टि राखेपछि गठबन्धन तरंगित बनेको छ । कोशी प्रदेशमा कांग्रेसले माओवादीका मुख्यमन्त्रीलाई सहयोग नगरी एमालेसित मिलेर सरकार बनाएको पीडा पनि प्रचण्डलाई छ ।

माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै माओवादीका लागि कांग्रेससँगको गठबन्धन फलदायी बन्न नसकेको ब्रिफिङ गरेको नेताहरुले सार्वजनिक गरेका छन् । गठबन्धनमा भएको सहमति अनुसार प्रचण्ड २ वर्ष प्रधानमन्त्री रहने छन् ।त्यस मध्ये १ वर्षे कार्यकाल पूरा भएको छ ।माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा व्यक्त गरेको धारणा गठबन्धनका प्रमुख साझेदार नेपाली कांग्रेसलाई ‘थ्रेट’ हुन सक्ने कतिपय नेताहरुको बुझाइ छ ।

तर गठबन्धनमा तनाव भए मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले लिन चाहेको विश्वासको मतमा समस्या आउन सक्नेछ । मधेश प्रदेशमा सरकारबाट अलग्गिएसँगै समर्थन समेत जनमत पार्टीले फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन चाहेका छन् । अनौपचारिक रुपमा मुख्यमन्त्रीलाई कांग्रेस र नेकपा एसले विश्वासको मत दिने जनाइसकेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) ले पनि विश्वासको मत दिने वचन दिएको बताइएको छ ।तर माओवादी संसदीय दलका नेता भरत साहले मुख्यमन्त्री फेर्नु पर्ने अडानबाट पछि हटेका छैनन् । उच्च स्रोतका अनुसार बिहीबार बस्ने संघीय गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले मधेश प्रदेशमा विश्वासको मत दिने निर्णय गर्ने बलियो संभावना छ ।

गठबन्धनले निर्णय गरे लगतै मुख्यमन्त्री यादवले शुक्रवार विश्वासको मत लिने बताइएको छ । कांग्रेस महासमितिको बैठक ७ गतेदेखि प्रारम्भ हुने भएकाले त्यस अगावै मुख्यमन्त्री यादवले विश्वासको मत लिन चाहेका छन् ।स्रोतका अनुसार गठबन्धनका नेताहरुले पनि कांग्रेस महासमितिको बैठक अगावै मधेश प्रदेशमा विश्वासको मत दिने निर्णय गर्ने छन् ।

मधेश प्रदेश सभामा सत्तारुढ गठबन्धनसित पर्याप्त बहुमत रहेकाले विश्वासको मत लिइरहन आवश्यक नभए पनि मुख्यमन्त्री यादवले जनमत हटेपछि पनि सरकारसित बहुमत रहेको साबित गर्न चाहेका छन् । कांग्रेसले सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाएर हटाउन जनता समाजवादी पार्टी( जसपा)माथि दबाब बनाउन मुख्यमन्त्री फेर्नुपर्ने माग राखेको बताइन्छ । सत्तागठबन्धनमा मधेश प्रदेशमा सबै भन्दा ठूलो दल भए पनि कांग्रेसको नेतृत्वमा सरकार छैन् ।

संघीय गठबन्धनमा भएको सहमति अनुसार पनि मधेश प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने संभावना छैन् । त्यसकारण सभामुखमा कांग्रेसले दाबी गर्दै आएको छ । तर जसपाले कांग्रेसको चाहनालाई समर्थन गरेको छैन् । जसपा र एमाले बाहेक सभामुखलाई हटाउन सबै दल तयार रहेको बताइन्छ । स्रोतहरुका अनुसार सभामुखलाई जोगाउन एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने छ ।

Comment


Related News

Latest News

Trending News