अपडेट 
२०८० फाल्गुन ५, शनिबार ०७:२१

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकको राजनीतिक तथा आर्थिक अवस्था दयनीय रहेको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार पेट्रोलियम डिलर्स एशोसिएसनको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन समारोहमा बोल्दै नेपाली कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका नेता निधि नेपालको अर्थतन्त्र नीतिमा देखिएको समस्याका कारण आर्थिक अवस्था संकट उत्पन्न भएको बताए । अहिले गठबन्धनको सरकार रहेको भन्दै नेता निधिले वर्तमान राजनीतिक र आर्थिक अवस्था एकै पटक समस्या उत्पन्न हुनुको कारणसहित यसको समाधान तर्फ गम्भीररुपमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरे ।

नेता निधिले भने– ‘नेपालको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ, वर्तमान सरकार गठबन्धनको सरकार रहेकाले पटक–पटक आर्थिक अवस्थाको किन चर्चामा आएको भन्ने बारेमा गहनरुपमा ध्यान दिएर छलफल गरी पाइला अघि बढाउँदै समाधान गर्नका लागि सरकारसंग आग्रह गर्नेछु ।’ नेता निधिले रुकुम, रोल्पा, जुम्ला, हुम्लालगायत स्थानमा पुग्दा मुलुकको आर्थिक अवस्था र राजनीतिक संकटको अवस्थाबारेमा त्यहाँका स्थानीय निकै चिन्तित देखिएको स्मरण गरे ।

उनले मुलुकको राजनीतिक प्रणाली विग्रिएकै कारण आर्थिक र सामाजिक संरचनाहरुसमेत प्रभावित हुन पुग्दा स्वाभिकरुपमा जनताहरुले दल र नेतामाथि प्रश्न गर्ने भएकाले यसप्रति सरकार, राजनीतिक दल, नेताले आफ्नो व्यवहार, कार्यशैली र नेपाली राजनीतिको व्यवस्थाको समेत परिणाममुखी सुधारका लागि सबैसंग अपिल गरे । उनले अहिले संघीय, प्रदेश र स्थानीय तहका सरकारका बारेमा विभिन्न खाले टिप्पणीलाई सबै राजनीतिक दलले सकारात्मकरुपमा ग्रहण गर्दै जनतामुखी राजनीति हुनु पर्ने बताए ।

यता केही दिन अघि भएको निर्वाचनबाट एशोसिएसनको अध्यक्ष पदमा किसुनदेव साह, उपाध्यक्ष पदमा राजीव पाठक र ललित साह, महासचिवमा रामरोशन साह, सचिवमा नरेश महासेठ, कोषाध्यक्षमा राजु कुमार मरवैता निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारीहरुलाई नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशासिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले शपथ ग्रहण गराएका थिए ।

 

Comment


Related News

Latest News

Trending News