अपडेट 
२०८० फाल्गुन ५, शनिबार ०८:०५

किर्ते जालसाजी र अवैध नागरिकता प्रकरणबाट जोगिन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रधानमन्त्री कार्यालयलाई गुहारेका छन् ।

मेयर सिंहले आफ्ना विश्वसनीय सहयोगी सत्यराज घिमिरेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निजी सचिव अर्जुन भण्डारीलाई भेटन आइतबार प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

मेयर सिंह प्रधानमन्त्री कार्यालयमा रहेकै बेला उनीमाथि नागरिकता र जन्मदर्ता किर्ते जालसाजी गरेको उजुरी दिएका सहाबुद्दिन , शशिकपुर मियाँ लगायतका नेताहरु पनि पुगेका थिए । सहाबुद्दिन र मियाँ प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलसित भेंटेका थिए । उनीहरुले स्थानीय प्रशासन कारबाही गर्न आलटाल गरेको आरोप लगाउँदै जन्मदर्ता किर्ते र नागरिकता किर्तेमा मुद्दा चलाउन सचिव पोखरेलको ध्यानाकर्षण गराएका थिए ।

मेयर सिंह र सहाबुद्दिनको टोलीले पालैपालो गृह, र प्रधानमन्त्री कार्यालयका सचिवहरुसित भेंटेका छन् । सिंहले आफूलाई फसाउन विपक्षीहरुले नियोजित रुपमा लागेको जनाउँदै मेयरको रुपमा आफूलाई पचाउन नसकेको आरोप लगाउने गरेको स्रोतहरुले जनाएका छन् ।

नागरिकता सम्बन्धी छानबिन गर्न गृहमन्त्रालयबाट खटेको टोलीले सोमबार सम्म प्रतिवेदन बुझाउने बताइएको छ । ‘दुई/तीन दिन भित्र छानबिन समितिले प्रतिवेदन बुझाएपछि थप प्रक्रिया थालिने छ ’ गृहसचिवको भनाई उद्धृतगर्दै सहाबुद्दिनले भने, जन्मदर्ता किर्ते जालसाजीको विषयमा पनि छानबिन प्रहरीले गरिरहेको छ ।

नागरिकता र जन्मदर्ताको सरकारी कागजात किर्ते गरेको प्रमाण सहितको गम्भीर मुद्दामा मुछिएका मेयर सिंहले उन्मुक्तिका लागि धनलाई समेत दाउमा लगाएको आरोप विपक्षीहरुले लगाएका छन् । शक्तिकेन्द्रहरुलाई प्रभावित गर्न मेयर सिंहले सबै उपायहरु अबलम्बन गरेको सहाबुद्दिनले बताए । आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसित भेट्ने समय मिलेको उनले बताए ।

मेयरविरुद्धको अभियानमा वार्ड अध्यक्षहरु पनि सक्रिय भएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष आरके पटेलपनि सहाबुद्दिन सहितको टोलीमा सहभागी छन् । जन्मदर्ता किर्ते जालसाजीको जाहेरीलाई जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकील कार्यालय मार्फत दर्ता गराइएको छ ।

उजुरीकर्ताहरुले कार्वाही गर्ने देशको सबै निकायलाई गुहारेका छन् । नागरिकतामा थोरै जोगिने आश गरेका मेयर सिंह जन्मदर्ता सम्बन्धी सरकारी कागजात किर्ते जालसाजीमा जोगिने संभावना देखेका छैनन् । संघीय गठबन्धनमा जोगाउने सहमति भए बाहेक उनलाई जोगाउन सहज नरहेको अधिकारीहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News