अपडेट 
२०८० फाल्गुन ८, मंगलवार ०८:२९

बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ । शनिवारदेखि सुरु भएको महोत्सवमा रमाइलो हेर्ने र स्वाद चाख्नेको भीडले सडक स्थलका ५० वटै स्टलमा अत्यधिक भीड रहेको छ ।

व्यापारीलाई सामग्री बेच्न भ्याइ नभ्याई भएको छ । बिपी राजमार्गको प्रवेशविन्दुमा आयोजना गरिएको महोत्सवमा पोखरादेखि हेटौडासम्म र सिन्धुलीदेखि सुनसर ीसम्मका आगन्तुक र पारखीले सडकमै बसेर खाना महोत्सवको स्वाद लिनेगरेका छन् । महोत्सवमा ५० वटा स्टल रहेका छन् । जहाँ सप्तरीदेखि पर्सा जिल्लासम्मका रैथाने भोजनका स्वाद रहेको स्थानीयको भनाइ छ । कन्ने च्याउ र केराको विविध परिकार पस्कन हेटौडादेखि आएको ज्योति किरण किरुना म.म. सेन्टरलाई पनि भ्याइ नभ्याई छ ।

बर्दिबासको केत्ली चिया पसलको स्टलमा पनि १६ प्रकारका चियाका परिकार चाख्न पारखीहरू खचाखच हुनेगरेका छन् । रौतहटको कटिया (माटोका भाँडामा पकाएको) मासुको स्वादले पनि बजार लिएको छ । विद्यार्थीले पनि पहिलो पटक सिकेका सीप र परिकारलाई महोत्सवमा पस्कने अवसर पाएका छन् । मधेश प्रदेशकै लागि पहिलो र बर्दिबासका लागि अहिलेसम्मकै नौलो मानिएको सडक खाना महोत्सव प्राविधिक शिक्षालयका विद्यार्थीका लागि आफना उत्पादनलाई बजारीकरण गर्ने र सिकेका सीप परीक्षण गर्ने प्रयोगशाला बनेको छ ।

यस क्षेत्रमा थुप्रै प्राविधिक विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये खयरमारास्थित निर्मला लामा वहुप्राविधिक शिक्षालय, बर्दिबासस्थित पर्यटन तथा होटल व्यवस्थापन तथा अध्ययन प्रतिष्ठान (नाथम) कलेज र बर्दिबास ८ स्थित हात्तीलेट माध्यमिक विद्यालयका ‘ कमाउँदै पढदै’ कार्यक्रमका विद्यार्थीले पहिलो पटक सिकेका सीप र परिकारलाई महोत्सवमा पस्केको बताएका छन् ।

यसअघि मेला र उत्सवमा रमाइलो र ख्यालठट्टा गर्ने विद्यार्थीले पहिलो पटक सीप र जाँगर चलाएका स्टलमा स्वाद चाख्न आउनेहरूको भनाइ छ । आफना प्रशिक्षार्थीले तयार पारेका परिकारलाई ग्राहकले मन पराइदिएकोमा खयरमारास्थित निर्मला लामा वहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहेताले खुसी प्रकट गरे । आयोजक होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले महोत्सवका हरेक गतिविधिलाई नजिकबाट नियालि रहेको महासचिव नारायण घिमिरेले बताए ।

महोत्सवको बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले शनिवार अपरान्ह ब्यानर पढेर उद्घाटन गरेपछि महोत्सवको विधिवत् सुरुवात भएको थियो । खाना महोत्सवले मधेश प्रदेशको भोजन संस्कृतिको प्रवद्र्धन र सुस्ताएको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास नगरप्रमुख क्षेत्रीले विश्वास व्यक्त गरे । आयोजक होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्जन कार्की (गोपाल) ले महोत्सव मुनाफाका लागिभन्दा पनि बर्दिबासको परिचय, पहिचान र प्रतिष्ठाका लागि आयोजना गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News