अपडेट 
२०८० फाल्गुन ९, बुधबार ०७:३५

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको जीतपुर गढीमाई चोकदेखि पूर्वतर्फको सडक निर्माणमा ठेकेदारको चरम लापरबाहीका कारण स्थानीयले सास्ती भोगेका छन् । संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ५० करोडको योजनामा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक कालोपत्रेको काममा ढिलासुस्ती भएको छ ।

महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालि काठमाण्डुले औद्योगिक करिडोरको ६ लेनसँग जोडिएको जीतपुर गढीमाई मन्दिरदेखि पूर्वतर्फको इनहर्वा बसडिलवासम्म करिब ५ किलोमिटर सडक निर्माणको काम अलपत्र अवस्थामा छाडेको छ । सडकमा खाल्टाखुल्टीका कारण दुर्घटनाको जोखिम बढेको छ भने धुलोले यात्रीलाई सास्ती भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रामबाबु पटेलले ठेकेदारले समयमै पोल सार्न आलटाल गर्दा बाटोको काम अगाडि बढ्न नसकेको बताए । धुलो उडेर गाउँमा हिँड्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘हामीले यो बाटो छिटो बनाइदिन कतिपटक चक्काजाम ग¥यो, कति पटक हड् ताल ग¥यौँ, त्यस यता बेला–बेलामा बाटोमा पानी हालेको छ, तर बाटोको काम साह्रै ढिलो हुँदा गाउँलेले धेरै सास्ती भोग्नु परेको छ,’ पटेलले भने, ‘ठेकेदारको चरम लापरबाही छ ।

फिल्डमा ठेकेदार कहिल्यै पनि देखा पर्दैन ।’ यो योजनामा सिमरा टेलिकमदेखि सेजसम्म जाने पहुँच मार्ग, जीतपुरको गढीमाईदेखि रमौली हुँदै रिलायन्स चिनी मिलसम्म जाने सडक र जीतपुरस्थित गढीमाई मन्दिरमा पार्क बनाउने उल्लेख छ । तत्कालीन शहरी विकास मन्त्री मेटमणि चौधरी यो योजनाको २०७९ असोज ७ गते शिलान्यास गरेका छन् ।

महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालिका इन्जिनियर प्रवीन ठाकुरले हालसम्म २० देखि २५ प्रतिशत काम सम्पन्न भएको र करिब ६ करोड भुक्तानी बुझिसकेको बताए । ‘पोल सार्ने विषयलाई लिएर ढिला भएको थियो, अब सघन शहरी कार्यालय आफैँले सार्ने सहमति भएकाले रोकिएको काम छिटै सुरु हुन्छ,’ ठाकुरले भने, ‘सिमरा र जीतपुरमा गरी करिब ६० देखि ७० वटा बिजुलीको पोल बिच बाटोमा परेका छन् । त्यसलाई अब छिटै हटाउने काम सुरु हुन्छ ।’ पूर्व वडाध्यक्ष पटेलले भने ठेकेदार कम्पनीले आफूखुसी बिल पास गरेर भुक्तानी लिने गरेको तर फिल्डमा केही काम नभएको बताए । ‘एक डेढ किलोमिटर नालाको काम भएको छ अरु केही काम भएको छैन,’ उनले भने, ‘ठेकेदारको धेरै लापरबाही छ ।’ अर्का स्थानीय हरेन्द्र सहनीले ठेकेदारले केही नाला बनाउने बाहेक कुनै काम नगरेको बताए । ‘पोल सारेको छैन, धुलो उडेर बाटोमा हिँड्नै नसकिने अवस्था छ,’ उनले भने ।

३२ फिट चौडाइको बाटोमा ३ फिट दुवैतर्फ नालाका लागि छुट्याइएको छ । ऐलानी जग्गा भएको ठाउँमा भने बाटोको चौडाइ केही फराकिलो बनाइएको छ । १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने योजनामा एक वर्ष बित्नै लाग्दासमेत धेरै काम अलपत्र अवस्थामा रहेको सिमराका मदनबहादुर क्षेत्रीले बताए । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्जका प्रमुख विनोद सिंहले भने तोकिएको समयभित्र काम सम्पन्न हुने दाबी गरेका छन् । ‘सरकारले समयमै भुक्तानी ग¥यो भने आगामी असोजभित्र सबै काम सम्पन्न हुन्छ,’ सिंहले भने । यता विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले भने सघन शहरी कार्यालयले २ महिनाअघि नै पोल सार्ने विषयमा प्राधिकरणसँग सहमति गरे पनि काम सुरु नगरेको बताएको छ ।

Comment


Related News

Latest News

Trending News