अपडेट 
२०८० फाल्गुन ९, बुधबार ०७:३८

सर्लाहीको बागमती नगरपालिकाले पहिलो पटक वृहत्त शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिव १५ हजार अभिभावक सहभागी गराई शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

फागुन १२ गते शनिबार बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना हुने एक दिने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने बागमती नगरपालिकाले जनाएको छ । नगरप्रमुख भरतकुमार थापाले पूर्वाधार सँगसँगै चेतनाको समेत विकास गर्नुपर्छ भन्ने निष्कर्षसहित पहिलो पटक शैक्षिक महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताए । नगरप्रमुख थापाले आफूहरु निर्वाचित भएर आएपछि नगरभित्रका सामुदायिक विद्यालयमा थुप्रै सुधारका काम भएका र सामुदायिक विद्यालय सुधारकै अभियान अन्तर्गत ऐतिहासिक शैक्षिक महोत्सव आयोजना गर्न जुटेको जानकारी दिए । “हामी निर्वाचित भएर आउँदा यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी थिएनन्, अहिले आठौँ हजार विद्यार्थी भर्ना भएका छन्,” नगरप्रमुख थापाले भने, “भौतिक संरचनाको कमी र शिक्षक दरबन्दीको अभावले अब थप नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था छैन् ।” उनले विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वाङ्गीण विकासका लागि समाजको मौलिकता, संस्कार, संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बताए ।

महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् । बागमती नगरपालिकाको शिक्षा सुधार अभियानका सहजकर्ता एवं वृहत्त राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले शैक्षिक महोत्सवलाई सफल र उपलब्धिपूर्ण बनाउन विगत तीन महिनादेखि प्रत्येक विद्यालयका विद्यार्थीलाई तयारी गराइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News