अपडेट 
२०८० फाल्गुन १२, शनिबार १७:३४

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने भएको छ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गरेका तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गरेकोमा प्रथम राष्ट्रपति यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गरिने निर्णय भएको हो।

यसैगरी, करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय गरिएको पनि दाहालले जानकारी दिए।

एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएकोमा दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ।

उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ।

यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसकेका छन्। पुरस्कारको राशी एक लाख हजार रहेको छ।

विसं २०५८ मा विमलेन्द्र निधि मानार्थ अध्यक्ष भएर नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो।

प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाको संयोजकत्वमा पूर्वराजदूत डा. दिनेश भट्टराई, प्रा.डा. कुमार कोइराला, प्रा. नवेन्द्र निधि सदस्य रहेका थिए।

Comment


Related News

Latest News

Trending News