अपडेट 
२०८० फाल्गुन १३, आईतवार ०७:३४

पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ ।

सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न मुसहर बस्तीका नागरिक शौचालयविहीन थिए । महागढीमाई वडा नं २ को मुसहर बस्तीमा शौचालय नहुँदा केही महिना अघिसम्म त्यहाँका बासिन्दा खेतबारी, खोलानाला, झाडीमा शौच गर्न जाने गर्दथे ।

मुसहर बस्तीकी फुनदेवी पासवानले शौचालय नभएका कारण आफूहरू खुला स्थानमा शौच गर्न जाने गरेको तर नगर प्रहरीले लखेट्ने गरेको सुनाइन् । महागढीमाई नगरपालिकाले २०७५/०७६ मै आफ्नो मातहतका ११ वटा वडालाई खुला दिसामुक्त घोषणा गरेको थियो ।

खुला दिसामुक्त पालिका घोषणा गर्नुअघि नगरपालिकाले अति गरिब, विपन्न र दलित बस्तीमा शौचालय निर्माणका लागि रिङ, सिट प्यानलगायतका आवश्यक सामग्री निःशुल्क वितरण गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताए ।

पछिल्लो समय नगरप्रहरी खटाएर खेतबारी, खोलानालामा शौच गर्नेलाई समातेर ल्याउने र सम्झाएर पठाउने गरेको कारणले शौचालय निर्माण अभियानले गति लिएको छ । हालै वडा–२ को मुसहर बस्तीमा इस्लामिक रिलिफ क्यानडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा जनजागरण युवा क्लब कलैयाले शौचालय र स्नान घर बनाएर त्यसको प्रयोगबारे सचेतना गराएको थियो ।

उनीहरूले पछिल्लो समय शौचालयको प्रयोग गर्ने, स्नानघरमा नुहाउने, आफू र आफ्नो वरपर सरसफाइ गर्न थालेका छन् । जनजागरण युवा क्लब कलैयाले सो मुसहर बस्तीका ४६ घरधुरीमा शौचालय, पिउने पानीको धारा र ठाउँ ठाउँमा सामूहिक स्नानघर निर्माण गरेको छ । मुसहर बस्तीकी कलहीदेवी राम एक÷डेढ वर्ष अघिसम्म गाउँमा यत्रतत्र फोहोर र दुर्गन्ध हुने गरेकोबताइन् ।

करिब १४ हजार घरधुरी, ५८ हजार जनसंख्या रहेको महागढीमाई नगरपालिकामा १७ देखि १८ प्रतिशत दलित बस्ती रहेको नगरप्रमुख उपेन्द्र यादवले बताए । उनले शौचालय नभएका दलितहरू बस्तीहरूमा नगरपालिकाले पुनः सहयोग गरेर शौचालय निर्माण गरिने बताए ।

Comment


Related News

Latest News

Trending News