अपडेट 
२०८० फाल्गुन १६, बुधबार ०७:२३

मधेश प्रदेश सत्ता गठबन्धन संसदीय दलका नेताहरुको बैठकमा ‘पावर शेयरिंग’को विषय उठेको छ ।

प्रदेश सत्ता गठबन्धनको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मंगलवार भएको बैठकमा ‘पावर शेयरिंग’को विषय उठे पनि खासै छलफल नभएको एक नेताले बताए । गठबन्धन सरकारको नेतृत्व परिवर्तनको संकेत नरहेको अध्यक्ष यादवले संकेत दिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिए पछि पहिलो पटक सत्ता गठबन्धनका संसदीय दलका नेताहरुको बैठक बसेको थियो । बैठकमा अध्यक्ष यादवले सत्ता साझेदार दलहरुले समझदारीमा निर्णय लिनुपर्नेमा जोड दिँदै झिनामसिना विवाद भए त्यसको आपसी छलफलबाट निराकरण गर्नु पर्नेमा जोड दिए । गत हप्ता मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए ।

जसपा नेतृत्वको सरकारलाई अल्पमतमा पार्न माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सकृय भूमिका निर्वाह गरेको थियो । सभासदहरुलाई लिएर भारतको सुरसण्डमा बैठक गरेर जसपालाई सत्ताच्यूत गर्ने खेलमा लागेका माओवादी संसदीय दलका नेता भरतप्रसाद साह र लोसपाका महन्थ ठाकुर खेमाका सभासदहरुले एमाले, जनमत पार्टी र स्वतन्त्र सभासदहरुसित मिलेर लागेका थिए ।

आन्तरिक रुपमा पद विभाजन समेत गरिसकेका असन्तुष्टहरु सरकार ढाल्न असफल भएपछि आ–आफ्नै पार्टीमा आलोचित हुन थालेका छन् । सत्ता गठबन्धनसँग इमान्दारीपूर्वक अडेका नेपाली कांग्रेसले पनि नेतृत्व परिवर्तनको विषयमा आवाज उठाउने गरेको छ । नेकपा एकीकृत समाजवादीले भने गठबन्धनको नेतृत्व जसपाले नै गर्ने पक्षमा तर्क राख्दै आएको छ ।

अर्को बजेट नआए सम्म सत्ता परिवर्तनको विषयमा गठबन्धन भित्र चर्चा हुनु अनुचित रहेको एकीकृत समाजवादीको कथन छ । नेकपा एमाले र जनमत पार्टी सत्ता गठबन्धनबाट अलग्गिएसँगै जसपाको सरकारलाई फेर्न गठबन्धनका माओवादी र लोसपालाई समेत विश्वासमा लिइसकेको छ ।

सत्ता परिवर्तनको विषयमा गठबन्धनका लागि अगुवाई गरेका माओवादी दलका नेता भरत साह र लोसपाका उपनेता उपेन्द्र महतोलगायतको समूह नै कमजोर भएको छ । गठबन्धन दलका नेताहरुको संयुक्त बैठकमा जसपा अध्यक्ष यादवले सरकार लगायतका विषयमा शीर्ष नेताहरुबीच बैठक बसेर छलफल हुने बताएको एकजना सहभागी नेताले बताए । ‘मधेश प्रदेशमा सरकारलाई गतिशील बनाएर जनचाहना अनुरुपको कार्य गर्न लाग्नु होस्’ अध्यक्ष यादवको भनाई उद्घृत गर्दै सहभागी एकजना सभासदले भने, आगामी दिनमा गठबन्धनमा कुनै प्रकारको विवाद आउन दिनु हुँदैन । बैठकबाट विमानस्थल गएका अध्यक्ष यादवले पाँचै दलका नेताहरुलाई गठबन्धनको भावना अनुरुप कार्य गर्न निर्देशन दिए । भारतको सुरसण्डमा भएको बैठकप्रति उनले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका थिए ।

नियमित रुपमा बैठक बस्न र समझदारी अनुरुप कार्य गर्न उनले निर्देशन दिए । सौहाद्रपूर्ण वातावरणमा बैठक बसेको बताउँदै भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेशमा उठेका विषयहरुमा पनि संघीय गठबन्धनका शीर्ष नेताहरुबीचको छलफल पछि टुंगो लाग्ने बताए ।

मधेश प्रदेश सरकारले विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्न द्रुतगतिमा काम अगाडि बढाएको छ । मन्त्रालयहरुबाट विनियोजित बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाइसकेको छ ।

Comment


Related News

Latest News

Trending News