अपडेट 
२०८० फाल्गुन १७, बिहीबार ०७:१८

सर्लाहीको हरि पूर्वा नगरपालिकाका कर्मचारीले तलब नपाएको भन्दै आन्दोलनमा उत्रेको करिब अढाइ साता भएको छ । उनीहरु आन्दोलनस्वरुप १४ दिनदेखि धर्ना बस्दै आएपछि विद्यालयसमेत बन्द भएको छ । जसले गर्दा विद्यार्थीहरुको भविष्यसमेत अन्योल बनेको छ । वितेको साउनदेखिको तलब माग गर्दै नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर निरन्तर धर्नामा बसिरहेका छन् ।

आठ महिनासम्म बजेट सञ्चालन नभएर तलब नपाउँदा घर, व्यवहार धान्न मुस्किल परेको र कार्यालयमा मसलन्दलगायतका सरसामग्रीको अभाव भएर कार्यालय सञ्चालन गर्न समस्या परेको भन्दै स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीहरु माघ २८ गतेदेखि नगरपालिका परिसरमा अनिश्चितकालीन धर्नामा बस्दै आएका छन् ।

हरिपूर्वा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामएकवाल रायले जनाए अनुसार तलब नपाएसम्म धर्नामा बाध्यतावश बस्नु परेको बताउँछन् । उनले स्वास्थ्य संस्थामा आकस्मिकबाहेक अन्य सेवा ठप्प पारेको बताए । तलब नपाएपछि हरिपूर्वाका शिक्षक फागुन ६ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरेर कर्मचारीसँगै धर्नामा बसिरहेका छन् ।

१० दिनदेखि विद्यालय बन्द हुँदा नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित बनेका छन् । केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाका शिक्षक गंगाराम यादवले १० दिनसम्म धर्नामा बस्दा समेत आफूहरूको समस्या बुझ्न कोही नआएको गुनासो गरे । १० दिनदेखि विद्यालय बन्द हुँदा विशेष गरी एसइइको तयारीमा रहेका विद्यार्थी मारमा परेका छन् ।

हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय प्रमुख नहुँदा नगरपालिकाको खाता सञ्चालन हुन नसकेको स्पष्ट पारे । नगरप्रमुख साहले शिक्षक, कर्मचारीको तलब र वृद्ध वृद्धालगायतको सामाजिक सुरक्षा भत्ता निकासाका लागि सम्पूर्ण तयारी भइसकेकाले कोलेनिका कार्यालयमा प्रमुख आउनासाथ आठ महिनादेखिको गाँठो फुक्ने दाबी गरे ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपाने फागुन १ गतेदेखि नै रमाना लिएर गएको कार्यालयले जनाएको छ । तत्काल आफूलाई निमित्तको जिम्मेवारी दिइए पनि आर्थिक अधिकार नरहेको कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनले हरिपूर्वा नगरपालिकाको हकमा आर्थिक कारोबार सुचारु भएपछि नगर सभाको कागजात हेरिने र त्यसपछि मात्रै थप कुरा बताउन सकिने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News