अपडेट 
२०८० फाल्गुन १८, शुक्रबार ०७:०९

सर्लाहीका तीनवटा पालिकामा विकास निर्माण ठप्प छ । दुई पालिकामा ताला लगाइएको छ भने एक पालिकाले बजेट नै ल्याउन सकेको छैन् । हरिपुर्वा नगरपालिकाले एक साताअघि मात्र नगरसभा गरेको थियो । तर उपप्रमुखसहित केही वडाध्यक्षले विरोध जारी राखेका छन् । त्यहाँ कर्मचारी तथा शिक्षकले तलबभत्ताको माग गर्दै आन्दोलन हुँदा कार्यालयको कामकाज ठप्प छ । जनप्रतिनिधिकै तालाबन्दीका कारण पर्सा गाउँपालिकाको कामकाज पनि ठप्प छ ।

कार्यपालिकाको बहुमत सदस्यले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन् । चन्द्रनगर गाउँपालिकाले आठ महिना बितिसक्दासमेत बजेट ल्याउन सकेको छैन् । यी तीनै पालिकामा राजनीतिक दलबीच बजेटमा भागबन्डा नमिल्दा कार्यालय सञ्चालनमा समस्या देखिएको छ । हरिपुर्वा नगरपालिकामा नगरसभा सम्पन्न भएको नगरप्रमुख विनोद साहको दाबी छ भने उपप्रमुख सुमित्रादेवीले नगरसभा हुनै नसकेको दाबी गरिरहेकी छन् ।

नगरमा विरोध तथा अवरोधले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्तासमेत पाउन सकेका छैनन् भने विकास निर्माणको काम लामो समयदेखि अवरुद्घ छ । धर्नामा बसेका कर्मचारीले बाध्य भएर आन्दोलनमा होमिनुपरेको दुःखेसो पोखे । हरिपुर्वाका प्रमुख साहले कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता सञ्चालनका लागि प्रयास भइरहेको बताए । तर कोलेनिका प्रमुख नहुँदा नगरपालिकाको खाता सञ्चालनमा आउन नसकेको जानकारी दिए ।

पर्सा गाउँपालिकामा तालाबन्दीले सेवाग्राही मारमा परेका छन् । आन्दोलनमा होमिएका जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/८० को आयव्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी तथा करार वा दैनिक ज्यालादारीमा खटिएका कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरणसहित १९ बुँदे माग राखेका छन् ।

पालिका अध्यक्ष धिरेन्द्र रायले आफू व्यक्तिगत काममा व्यस्त भएकाले आन्दोलनरत जनप्रतिनिधिसँग छलफल हुन नसकको बताए । उनले केही दिनभित्रै आन्दोलित पक्षसँग छलफल गरेर समस्या समाधान गरिने जानकारी दिए ।

चन्द्रनगरमा पालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माण ठप्प छ भने आठ महिनादेखि ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीको समेत तलब रोकिएको छ । चन्द्रनगरमा १५ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ, जसमध्ये ३ जना मात्र अध्यक्ष राजकुमार महतोको पक्षमा छन् भने १२ जना उपाध्यक्ष गीता देवीसँग छन् । उनीहरूको एकआपसमा कुरा नमिल्दा बजेट आउन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News