अपडेट 
२०८० फाल्गुन २२, मंगलवार ०७:४५

संघीय गठबन्धन परिवर्तन भएसँगै मधेश प्रदेशमासमेत नयाँ गठबन्धनको संभावना बढेको छ ।

मधेश प्रदेशमा हाल जनता समाजवादी पार्टी(जसपा)को नेतृत्वमा सरकार रहेको छ । सरकारलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा), माओवादी, नेकपा एसलगायत केही स्वतन्त्र र साना दलहरुको समर्थन रहेको छ । मधेश प्रदेशमा नेकपा एमाले र जनमत पार्टी सरकार बाहिर रहेका छन् । संघीय गठबन्धनमा जान चाहेको जनमत पार्टीले भने मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने शर्त अघि सारेको छ । जसपा र जनमतको विवाद भए लोसपा निर्णायक हुनेछ ।

जसपा नेतृत्वको सरकार गत महिना छाडेको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई ‘बटमलाइन’ बनाएर संघीय सरकारलाई समर्थन गर्ने बताएको छ । मधेश प्रदेश सरकारको नेतृत्व नपाए संघीय सरकारलाई समर्थन नगर्ने जनमतका नेताहरुले बताउन थालेका छन् । जसपाले पनि संघीय सरकारलाई समर्थनको ‘बटमलाइन’ बनाएको छ । त्यसका लागि माओवादी र एमाले सकारात्मक भएपछि सरकार गठनको प्रकृयामा जसपा सहभागि भएको छ ।

कांग्रेसको २२, जसपाको २०, लोसपाको ९, एसको ७ ले नै सरकार बन्ने भएकाले संघीय गठबन्धनको सहमति बिपरीत पनि सरकारलाई मधेश प्रदेशमा जसपाले निरन्तरता दिन सक्छ । तर एमालेसित मिलेर सरकार बनाउन एमालेको २३, जसपाको २०, लोसपाको ९, माओवादीको ९ ले सरकार बनाउन सम्मानजनक संख्या पुग्ने छ ।

तर मधेश प्रदेशमा लोसपाले पनि मुख्यमन्त्रीमा चासो देखाए एमालेसितको गठबन्धनमा नेकपा एसको साथ अनिवार्य रुपमा चाहिनेछ । जसपा र एमाले अथवा जसपा र नेकाँको गठबन्धन बिना प्रदेशमा सरकार गठन गर्न सहज हुने देखिदैन् । संघीय सत्ता गठबन्धन परिवर्तनसँगै कोशी, गण्डकी, बागमती र सुदुरपश्चिममा सरकार संकटमा परेका छन् ।

एमालेसहितको सरकारमा नेकपा एसको सहभागिताको संभावना कमजोर छ । कोशी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता नदिए मध्यावधि चुनावमा जानुको विकल्प छैन् । बागमती प्रदेशमा पनि राप्रपाको समर्थन बिना सरकार टिक्न सक्दैन् । संघीय गठबन्धनमा राप्रपालाई नराख्ने निर्णय गरिसकेको नयाँ गठबन्धन दलहरुलाई प्रदेशमा राप्रपाले समर्थन गर्ने संभावना शून्य छ ।

Comment


Related News

Latest News

Trending News