अपडेट 
२०८० फाल्गुन २२, मंगलवार ०७:५१

संघीय सत्ता गठबन्धनमा फेरबदल भएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

सत्ता साझेदार कांग्रेसलाई हटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी(जसपा)लाई साथ लिएका छन् ।

गत महिना भारतको बिहारमा मुख्यमन्त्री नितिश कुमारले सत्तासाझेदार राष्ट्रिय जनता दल (राजद)लाई हटाएर भारतीय जनता पार्टी(भाजपा)सित मिलेर सरकारलाई निरन्तरता दिएका छन् ।

नेपालमा पनि नितिश कुमारको नीतिलाई अवलम्बन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको बागडोरलाई आफ्नै हातमा राखेको टिप्पणी राजनीति वृत्तमा भइरहेको छ । प्रचण्डले पनि नितिश कुमारको ‘फर मुला’लाई अनुशरण गर्दै संसदको पूर्णकाल प्रधानमन्त्री रहने भएका छन् । एमालेले साथ छाड्न खोजे काँग्रेसले तत्कालै काँध थाप्ने निश्चित रहेको नेताहरुले बताउन थालेका छन् ।

केही हप्तादेखि सत्ता गठबन्धनमा भएको खटपटले अन्ततः १० महिना पुरानो सत्ता साभेदारलाई हटाएर प्रधानमन्त्री प्रचण्डले फेरि एमाले र रास्वपाको समर्थनमा सरकारको नेतृत्वलाई निरन्तरता दिएका छन् । गत वर्ष पुस ११ गते एमाले, रास्वपा, जसपा लगायतका दलहरुको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिनापछि नै सत्ता साझेदार फेरेका थिए ।

कांग्रेस, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी सहितको समर्थनमा सरकारलाई निरन्तरता दिएका प्रचण्डले हाल फेरि एमाले र रास्वपाको समर्थनमा सरकारलाई अगाडि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिनभरि नै सत्ता गठबन्धनको बैठक चलेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाका एक/एक जना गरी तीन जनालाई मन्त्रीको सपथग्रहण गराए पनि विभाग तोकेका छैनन् । सत्ता साझेदार माओवादीको तर्फबाट वर्षमान पुन, एमालेबाट विष्णु पौडेल, रास्वपाबाट लामिछाने र जसपाबाट यादव रहेको ४ सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलले नै मन्त्रीको संख्या, मन्त्रालय लगायतको टुंगो लगाइने बताइएको छ । उच्चस्रोतका अनुसार एमाले, माओवादी, रास्वपा र जसपाले १/१ जना उपप्रधानमन्त्री पाउने पक्कापक्की नै छ ।

कार्यदलले सिफारिस गरे अनुसारको मन्त्रालयसहित उपप्रधानमन्त्रीको निर्णय हुनेछ । एमाले र रास्वपाबीच गृह मन्त्रालयको विषयमा रस्साकस्सी छ । विगतमा उपप्रधानमन्त्री सहित गृह मन्त्रालय हाँकेका लामिछानेले त्यो नछाड्ने अडानमा कायम छन् । एमाले पनि गृह मन्त्रालयमा चासो देखाएको छ । उपप्रधानसहित अर्थ मन्त्रालयमा विष्णु पौडेलको संभावना रहेको बताइए पनि गृह मन्त्रालय एमालेले नछाडने अडानबाट पछि नहटेकाले कार्यदलमा सहमति जुट्न सकेको छैन् ।

प्रधानमन्त्री प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा तीन जना बिना विभागीय मन्त्री रहेका छन् । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त बिना विभागिय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन पनि गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा एमालेका पदम गिरि, माओवादीका हितबहादुर तमांग र रास्वपाका डोलप्रसाद अर्याल रहेका छन् ।

Comment


Related News

Latest News

Trending News