अपडेट 
२०८० फाल्गुन २३, बुधबार ०७:१०

संघीय गठबन्धन फेरिएसँगै प्रदेशहरुमा सरकार अन्योलग्रस्त देखिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा गर्न अस्वीकार गरेपछि उनलाई हटाउन विपक्षीहरुलाई संकट भएको छ । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री हटाउन अविश्वासको प्रस्ताव प्रदेश सभामा लगाउन सकिदैन् । अन्य उपायले हटाउन सहज छैन् । उनी राजीनामा पनि दिन चाहेका छैनन् ।

तर सुदुरपश्चिम प्रदेशमा कांग्रेसले माओवादी मन्त्रीहरुलाई मंगलवार बर्खास्त गरेको छ । कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारमा माओवादी सहभागी थिए । माओवादीका २ जना मन्त्री र एकजना राज्यमन्त्रीलाई मुख्यमन्त्रीले फोन गरी बर्खास्त गरिएको सूचना दिएका थिए ।

कर्णाली र गण्डकीको सरकार पनि सुरक्षित छैन् ।

लुम्बिनीमा पनि नयाँ गठबन्धनले साना दलहरुको साथ लिनैपर्ने बाध्यता भएको छ ।

बागमती प्रदेशमा राप्रपाको सहयोग बिना नयाँ गठबन्धनको सरकार अगाडि बढन कठिन छ । गठबन्धनले राप्रपासित सहकार्य नगर्ने निर्णय गरिसकेकोले बागमती प्रदेशमा सरकार चलाउन सहज देखिदैन् । हुनत प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसितको औपचारिक वार्तामा सरकारमा सहभागी हुन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सकारात्मक देखिएकाले प्रदेशहरुमा समेत गठबन्धनलाई राहत हुन सक्छ ।

अन्य प्रदेशहरु जस्तै मधेश प्रदेशमा पनि तत्काल खतरा देखिएको छ । तर नेकपा एसको सरकारमा सहभागिताले मधेश प्रदेश सरकार खतरामुक्त हुनेछ । नेकपा एस संघीय सरकारमा सहभागी हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)पनि सरकारमा जाने बलियो संभावना छ । संघीय सरकारमा एस र लोसपाको सहभागिताले जनमतको अडान प्रभावकारी नहुने प्रदेश सभासदहरुले जनाएका छन् ।

जनमत पार्टीले मधेश प्रदेश सरकारमा मुख्यमन्त्री दिए मात्र संघीय सरकारमा जाने अडान लिएको छ । तर नेकपा एस र लोसपा संघीय गठबन्धनमा सहभागी भएपछि मधेश प्रदेश सरकारको मुख्यमन्त्री सरोज कुमार यादव पूर्णतःखतरामुक्त हुनेछ । कांग्रेस सरकारबाट बाहिरिने छ । कांग्रेसले पाएको मन्त्रालयहरु एमालेले पाउने छन् ।

मधेश प्रदेश सरकार गठनहुँदा पनि एमाले सरकारमा थियो । मधेश प्रदेशबाट कांग्रेसले राजीनामा दिइसकेको छैन् । जनमत र लोसपाले कांग्रेसलाई साथ दिए पनि मधेश प्रदेशमा सरकार बन्न सक्दैन् ।

सरकार गठनका लागि ५४ जना सभासदको समर्थन चाहिन्छ । जसपाको २०, एमालेको २३, माओवादीको ९, एसको ६ सहितका सभासदहरु मुख्यमन्त्री यादवको साथमा रहने भएका छन् ।

गत महिना मधेश प्रदेश सरकारबाट जनमत बाहिरिएको थियो । सरकार ढाल्न बिहारको सुरसण्डमा भएको बैठकमा जनमत, एमाले, माओवादी र लोसपा एकजुट देखिएको थियो । तर त्यो मिसन असफल भएपछि एमाले, माओवादी र लोसपाले फेरि जसपाको नेतृत्वमा नै सरकारमा सहभागी रहने छन् । एमाले बाहेक माओवादी ,लोसपा र एस सरकारमा रहेका नै छन् ।

Comment


Related News

Latest News

Trending News