अपडेट 
२०८० फाल्गुन २४, बिहीबार १७:०५

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्ष बन्न अयोग्य रहेको जनाएको छ ।

पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि चौधरी अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो ।

अदालतको फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा यो निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । २०८० साल जेठ २ मा सर्वोच्च अदालतले कैलाली टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर त्यसको दुई हप्ता नबित्दै गणतन्त्र दिवसका दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको सजाय माफी गर्नुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन र अदालतको फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने अनि अध्यक्ष बन्नका लागि केन्द्रीय सदस्य बनेको कम्तीमा एक वर्ष भएको हुनुपर्ने विधानको व्यवस्था पनि उल्लंघन भएको आयोगको ठहर छ ।

चौधरीको नाम अद्यावधिक नभएपछि कानुनअनुसार नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता चौधरी रहेको पुरानै विवरण यथावत् रहनेछ । पार्टीको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । त्यसपछि चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिनुभएको थिए ।

Comment


Related News

Latest News

Trending News