अपडेट 
२०८० फाल्गुन २९, मंगलवार १९:१३

सरकारले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालय र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले २०८१ वैशाख २० देखी २३ गतेसम्म जर्जियामा आयोजना हुने ५७ औ एशियाली विकास बैङ्कको वार्षिक उत्सवमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, कालिगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्तै संयुक्त राष्ट्रसङ्घका मानव अधिकार परिषद् र सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९ देखि २०३१ को अवधिको लागि सदस्य पदमा नेपालका लागि उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने लगायतका निर्णयहरू भएको मन्त्री शर्माले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News