अपडेट 
२०८० फाल्गुन ३०, बुधबार ०६:३२

नयाँ गठबन्धनमा समावेश भएको नेकपा एकीकृत समाजवादी (एस) लाई १५ महिना प्रधानमन्त्री र राष्ट्रिय सभामा उपाध्यक्ष दिन अलिखित सहमति भएको छ ।

सत्ता साझेदार पाँच दल बीच मंगलबार भएको सहमतिमा एमालेलाई राष्ट्रियसभामा उपाध्यक्ष दिने पुरानो बुँदा हटाएर सात बुँदे सहमति भएको हो ।

नेपाली कांग्रेसको साथ छाडेर एमालेसित सत्ता साझेदारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का लागि एसको साथ बाध्यात्मक थियो । नेकपा एसको सोमबार भएको संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालको कडा आलोचना गरिएको थियो । बैठकका सहभागीहरुले लिखित रुपमा सम्झौता गर्न दबाब दिए पछि नेपाल समेतको हस्ताक्षर रहेको ७ बुंदे सहमति सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष नेपालबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाललाई सरकारको बाँकी कार्यकाल ४५ महिना मध्ये १५ महिना प्रधानमन्त्री बनाउन सहमति भएको बताइएको छ ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी( जसपा) नेपालबीच सहमति भएको थियो । एसलाई अलग राखेर गरिएको सहमतिप्रति नेपाल सन्तुष्ट थिएनन् । उनले प्रधानमन्त्रीमा सुनिश्चितता चाहेका थिए । एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले सात बुँदेबाहेक अन्य सहमति नभएको दाबी गरेका छन् । ‘सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको छ’ उनले भने, यसअघि चार दलबीचको सहमतिमा रहेको उपाध्यक्ष पदबारे पछिल्लो सहमतिमा केही नबोलिएकाले शीर्ष नेताबीच सो पद आफ् नो पार्टीको भागमा परेको बुझेको छु । ‘ठ्याक्कै यही हो भन्ने त मलाई जानकारी भइसकेको छैन ’ पाण्डेले भने, तर घटनाक्रम हेर्दा त्यस्तै बुझिन्छ ।’ नयाँ सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का ‘प्रचण्ड’को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने र राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई समर्थन गर्ने उल्लेख गरिएकोछ ।

सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष पदमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन् । फेरिएको सत्ता समीकरणलाई समर्थन गर्नुपर्दा पावर सेयरिङमा आफू कम्तीमा एक वर्ष प्रधानमन्त्री र कुनै प्रदेशको एउटा मुख्यमन्त्री पाउनुपर्ने अडान नेपालले लिएका थिए ।

एसको समर्थन बिना सत्ता गठबन्धन धरापमा पर्ने उच्चजोखिमको मुल्यांकन गर्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई मौखिक रुपमा १५ महिनाका लागि प्रधानमन्त्री बनाउने विश्वास दिलाएको स्रोतहरुले जनाएका छन् । तर एसलाई मुख्यमन्त्री दिन तत्काल नसकिने बताउँदै एक वर्षपछि त्यो पनि दिने बताइएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सत्ता साझेदार दलको विश्वास जित्न उच्चस्तरको सहमति कायम गर्न तयार भएको बताए । ‘ नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली नै तयार भएको संकेत गर्दै उनले भने , ‘एमाले सहयात्री दलहरूको विश्वास जित्दै अगाडि बढ्न तयार छ । त्यसका लागि यो गठबन्धन जोगाउन र सरकारलाई सहज ढंगले अघि बढाउन मिल्नेसम्मका सहमति गर्नबाट पछि नहट्ने उनले बताए ।

कांग्रेससहितको अघिल्लो गठबन्धनमार्फत प्रधानमन्त्री बन्ने सम्मुखमा सत्ता समीकरण नै परिवर्तन भए पछि विलखबन्दमा परेका नेता नेपालले बदलिएको सत्ता समीकरणलाई सहयोग गर्न र सरकारमा सहभागी बन्न विभिन्न सर्त अघि सारेका थिए । एसले अघि सारेका केही मागसहित केन्द्रदेखि प्रदेशसम्मको पावर सेयरिङमा प्रचण्ड ओलीसँग लिखित सहमति खोजेको थियो ।

प्रचण्ड र ओलीबीच पनि प्रधानमन्त्रीबारे कुनै लिखित सहमति नभएकाले नेपालसँग पनि लिखित सहमति नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘पावर सेयरिंग’को विषयमा थप छलफल प्रधानमन्त्रीले बुधवार विश्वासको मत प्राप्त गरे पछि हुने उनले बताए ।

यसअघि एमालेसहितको गठबन्धन बन्दा संसद्को बाँकी कार्यकाल प्रचण्ड र ओली दुई /दुई वर्ष प्रधानमन्त्री बन्ने दुई नेताबीच सहमति भएको थियो । तर फेरिएको सत्ता समीकरणमा नेता नेपालको पार्टी महत्वपूर्ण हुने भएपछि उनलाई फकाउन प्रधानमन्त्री प्रचण्ड र केपी ओलीले पटक पटक भेटवार्ता गरेका थिए । ती भेटहरूमा पनि अध्यक्ष नेपालले सत्ताको पावर सेयरिङमा आफ्नो स्पष्ट भूमिका खोज्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News