अपडेट 
२०८० फाल्गुन ३०, बुधबार १३:३६

मिथिला माध्यमिकी यात्राका सहभागीहरु आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।

गएको आइतवार धनुषाको मिथिलाविहारी–८ मिथिलाविहारी कुटी मन्दिरबाट थालिएको यात्राका सहभागी चौथो दिन आज महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानीका मेयर हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका छन्।

डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

आइतवार श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा शुरु भएको थियो । त्यसदिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए ।

दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् । मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।

आज चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।

डोला आगमनसँगै हरेक विश्रामस्थलमा भजन,कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको छ ।

नेपाल र भारतको गरी एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किलोमिटर र बाँकी धनुषाका क्षेत्र पर्छन् ।

त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको मान्यता छ ।

Comment


Related News

Latest News

Trending News