अपडेट 
२०८० चैत्र १, बिहीबार १४:४१

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।

बिहीबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेश गर्नुभएको हो । त्यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकमाथि राख्नुभएको विरोधको सूचना अस्वीकृत भएको थियो ।

संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक ल्याइएको मन्त्री जोशीले बताउनुभयो ।

७२ सालमा संविधान जारी भएपनि संघीयता स्वरुप कर्मचारी व्यवस्थापन गर्न नसकेको अवस्थामा अहिलेको विधेयक महत्वपूर्ण हुने उहाले बताउनुभयो । उहाले विधेयकका सन्दर्भमा आएका सुझावहरुलाई सकारात्मक रुपमा लिइएको धारणा राख्नुभयो ।

विधेयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । साथै आवास सुविधा, सरकारी सुविधा, विशेष आर्थिक सुविधा तथा स्वास्थ्य बीमा योजनालगायत व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकको व्यवस्थाअनुसार निजामती कर्मचारीले साठी वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । विद्यमान निजामती ऐनमा कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ । निवृत्तिभरण पाउने अवस्था र उमेरको हद ५५ वर्ष पूरा भएका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीको साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणका लागि जम्मा सेवा अवधि कायम गरिने विधेयकमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News