अपडेट 
२०८० चैत्र ३, शनिबार ०६:५४

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका असन्तुष्ट पक्षधरहरुको एक समूहले आफ्नै पार्टीको सरकारको कार्यशैलीप्रति असन्तुष्ट हुँदै मधेश प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मधेश प्रदेश सरकारको कामकाज सन्तोषजनक नभएको भन्दै असन्तुष्ट पक्षधरहरुको समूहले मुख्यमन्त्री सरोजकुमार यादवलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

मधेश सरकारले जनअपेक्षा अनुसार कामकारबाही गर्न नसक्दा सम्पूर्ण आन्दोलन र मुद्दालाई नै ओझेलमा पर्नसक्ने भएकोले खबरदारी गर्दै १६ बुँदे माग अघि सारेका छन् । मधेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै प्रहरी समायोजन, प्रदेश लोकसेवा मार्फत कर्मचारी पदपूर्ति लगायतको माग अघि सारेका छन् ।

सो समूहले बुझाएको ज्ञापनपत्रमा प्रहरी प्रशासन समायोजन, एकल अधिकार सूची अन्तर्गत आवश्यक कानुन निर्माण, प्रदेश लोकसेवा मार्फत आवश्यक कर्मचारीको पदपूर्ति, सुशासनको प्रत्याभूति, प्रदेश सरकारको कामकाजको निरन्तर सामाजिक परीक्षण, गुणस्तरीय शिक्षा तथा मर्यादित परीक्षास्कूल स्तरीय शिक्षालाई नियमन गर्न ऐन मार्फत विद्यालय शिक्षा आयोग गठन गर्नसमेत उल्लेख गरेको छ । त्यस्तै प्रदेश स्तरीय विश्वविद्यालय अनुदान र नियमन आयोग ऐन द्वारा स्थापित गर्ने र केन्द्रलाई स्वायत निकाय बनाउने, प्रदेश अनुसन्धान तथा तालिम र कृषि क्षेत्रलाई व्यवस्थित तथा किसानलाई मर्यादित जीवनको सुनिश्चितताको पनि माग सो ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

खेलकुदलाई व्यवस्थित, रोजगारी प्रवद्र्धन हेतु दीर्घकालीन कदम, योजना आयोगको सचिवालयलाई पर्याप्त जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउने, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षाको दायरा विस्तार, एकीकृत प्राकृतिक श्रोत व्यवस्थापन र वरिष्ठ प्रादेशिक नेताको संयोजकत्वमा पार्टी र सरकार बीच समन्वय गर्ने समिति गठन गर्न बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको अगुवाईमा उनीहरुले बुझाएको सो ज्ञापनपत्रको उल्लेख गरिएको माग अविलम्ब पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News