अपडेट 
२०८० चैत्र ३, शनिबार ०६:५७

‘नगर फोहर भयो । छाडा गाई–वस्तुले सडक दुर्घटना बढायो । मच्छर आतंक बढ् यो । अस्पताल वरिपरि त सांस लिनै गाह्रो भो । सफा गर्ने निकाय खोई ? जुन योगी आए पनि कानै चिरेका यी र यस्ता गुनासो र व्यङ जनकपुरधामवासीहरुको दैनिकी बनेको छ ।

चिया पसल देखि सरकारी अड्डासम्म यी र यस्ता गुनासो सुन्न सकिन्छ । पत्र– पत्रिका, रेडियो–टेलिभिजन तथा फेसबुक, इन्सटाग्राम, ट्वीटर, युट्युव जस्ता सामाजिक सञ्जालहरुका पानामा पढ्न र देख्न सकिन्छ । नगर पञ्चायत स्थापना भए देखि नै सुन्न थालिएका यी कर्ण भेदी वाक्यहरु संघीय गणतान्त्रिक कालमा पनि रोकिएको छैन् । गुनासाहरुको आयतन झन बढेकै छ । सवाल उठ्छ– जनकपुरका सडकहरु पहिलेको भन्दा बढी फोहर भयो वा पहिलेको भन्दा अलि सफा भयो ? यत्रतत्र देखिने फोहर यथास्थितिमै छ वा कुनै चोक वा स्थान विशेषमा मात्र देखिन्छ ? यस प्रश्नको जवाफ हामीले लगाएको चश्मा अनुसार फरक हुन सक्ला तर वास्तविकता के हो भन्ने नगर क्षेत्रका मूल सडकहरुको सफाई अवस्थामा थोरै भए पनि सुधार भएको छ ।

जनकचोक, राजदेवी मन्दिर भन्दा उत्तर, जानकी मन्दिर वरिपरि थुपारिने फोहर हटाइन थालिएको छ । हो, रामानन्द चोक भन्दा पश्चिम, पेठिया बजार लगायतका स्थानहरुमा फोहर थुपार्ने काम अझै पनि रोकिएको छैन । माथिका उदाहरणहरुले दुई विन्दुमाथि विचार गर्नु पर्ने देखिन्छ । पहिलो सर–सफाइ र दोश्रो सर–सफाइको क्रममा संकलन भएका फोहरको व्यवस्थापन ।

पहिलो विन्दुमा थोरै भए पनि सुधार भएको सबैले स्वीकार गर्छन । दोश्रो विन्दु अर्थात् फोहर व्यवस्थापनको क्षेत्रका खासै प्रगति हुन सकेको छैन् । लैण्डफिल साइट तथा फोहर व्यवस्थापन युनिटको व्यवस्थान भएसम्म यो समस्यालाई कसैले चाहेर पनि समाधान गर्न सक्दैन कारण फोहर व्यवस्थापन आकाशमा हुने बाला छैन् । यसको लागि जग्गा चाहिन्छ । फेरि लैण्डफिल साइटको व्यवस्थापन जनकपुरधाम उप– महानगर पालिकाको एकल प्रयासले सम्भव छैन् । यसका लागि नगरवासीको साथ र सहयोग चाहिन्छ ।

संघीय र प्रदेश सरकार र गुठी संस्थानको सहयोग पनि चाहिन्छ । जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोजकुमार साह पटक पटक गुनासो गरेका छन् – गुठी संस्थानले जग्गा दिएन । गुठी संस्थान कस्को मातहातमा छ ? एडीबीको सहयोगमा संचालित एकीकृत सहरी विकास परियोजना अन्तर्गत लैण्डफिल साइटको लागि विधिवत रकम विनियोजन गरिएको थियो ।

लैण्डफिल साइटको लागि जग्गा पनि निर्धारण गरिएको थियो तर दुर्भाग्य वस लैण्डफिल साइट बन्न सकेन । अमुक स्थानमा लैण्डफिल साइट निर्माण हुन नसक्नु ठूलो विषय होईन तर लैण्डफिल साइट बन्न नदिन भाष्य बनाइयो– ‘लैण्डफिल साइट फोहर हुन्छ । काग, चिल बस्छ । महामारी फैलिन्छ । हवाई यात्रा प्रभावित हुन्छ । जनकपुरको फोहर मेरो गाउँमा आदि आदि ।’ जानेर वा नजानेर बनाइएका यी भाष्य अचेल लैण्डफिल साइटको लागि जग्गा खोज्न ठूलो समस्याको रुपमा उपस्थित भएको छ ।

बढ्दो सहरीकरणसंगै फोहर व्यवस्थापन वैश्विक चुनौती बनेको छ । भारतका दिल्ली, मुम्बै, बैंगलोर जस्ता महानगरहरु यो चुनौतीको सफलतापूर्वक समाधान गर्दैछ । नेपालकै इटहरी, धरान, दमक, बिराटनगरलगायतका नगर र महानगरपालिकाहरु यस चुनौतीसंग प्रतिष्पर्धा गर्दै छ । नगर सफागर्न त्यहाँ सुविधा सम्पन्न बहुउद्येशीय फोहर व्यवस्थापन परियोजना स्थापना गरिएका छन् । जसबाट फोहर व्यवस्थापन त हुन्छ नै निजी क्षेत्रसंगको सहकार्यमा संचालित यी परियोजनाहरुबाट मल र ग्यास लगायतको उत्पादन पनि हुन थालेको छ । झन दमक नगरपालिकाले त मेडिकल वेस्टेजबाट ईंट निर्माण गर्न थालेको छ ।

अर्को शब्दमा भनौं भने फोहरबाट मोहर उपार्जन गर्न थालिएको छ । जनकपुरधामवासीले धरान नगरपालिकामा संचालित भेंचर वेस्ट टू ईनर्जी प्रालिले सञ्चालन गरेको फोहर व्यवस्थापन परियोजनाको निरीक्षण गर्नु आवश्यक छ । धरानको यो परियोजना सघन वस्ती भित्रै छ । परियोजनाको खुल्ला पर्खालसंगै टांसिएर निजी घरहरु छन् । खेतवारी छन् । घेरा बाहिर स्थानीयवासी आफ्ना बाल–बालिका र आमा–बुवा संग खानाखाई रहेका हुन्छन, भित्रकुहिने र नकुहिने फोहरको व्यवस्थापन भइरहन्छ । यहाँ भन्न खोजिएको के हो भन्ने फोहर व्यवस्थापन परियोजना वा डम्पिग साइट फोहरको डुंगुर होइन । रोजगारीको साधन हो ।

जनकपुरधामवासीबीच यो भाष्य बनाउनु जरुरी छ ।

Comment


Related News

Latest News

Trending News