अपडेट 
२०८० चैत्र ३, शनिबार ०७:०२

गौशाला नपा–१० स्थित लक्ष्मीनियाको जङ्गलमा भीषण डढेलो लागेको छ ।

अनियन्त्रित डढेलोले घाटगद्दी गरी राखिएका करौडौँ मूल्य बराबरको काठ खरानी पारेको छ । डढेलोलाई सुरुमा वनकर्मी, सशस्त्र प्रहरी तथा स्थानीय पसलेले निभाउने प्रयास गरेका थिए ।

लामो समयदेखिको खडेरी र तीव्र गतिमा चलेको पश्चिमा हावाका कारण आगोले विकराल रुप लिएको छ । वनकर्मी, सुरक्षाकर्मी तथा बर्दिबास, गौशाला, रामगोपालपुर र सर्लाही हरिवनबाट आएका ४ वटा वारुणयन्त्रले आगो निभाउने प्रयास गरेका छन् । आगो काठको मुनिसम्म पुगेको हुँदा ६ वटा स्काभेटरको सहयोगमा त्यस्ता काठ झिकेर नियन्त्रणमा लिने प्रयास गरिँदै छ ।

लामो प्रयासपछि आगो केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकोले अहिले पनि घटनास्थलमा वारुणयन्त्र, स्काभेटर, सुरक्षाकर्मी र वनकर्मचारी आगो निभाउन जुटेका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार पश्चितर्फबाट सल्किँदै आएको डढेलो सुरुमा डिभिजन वन कार्यालय नजिकको सशस्त्र क्याम्पसम्म पुगेको थियो ।

घटनास्थल नजिकैको लोकमार्ग छेउको छाप्रोमा नास्ता पसल गर्दै आएकी तुलमाया गुरङका अनुसार सशस्त्र क्याम्पनजिक डढेलो पुगेको देखेर सबैजना पानी बोकेर निभाउन जाँदा त्यहाँको आगो सशस्त्रकै प्रयासमा नियन्त्रणमा आएको बताइन् । “त्यहीबेला पश्चिमबाट एक्कासि उठेको हावाको भुमरीले बल्दै गरेको डढेलोको पतिङ्गरको मुस्लो उडाएर वन कार्यालयले घाटगद्दी गरी राखेको प्लटमा पु¥याएपछि हेर्दाहेर्दै आगोले वनै निल्ला जस्तो भयो“ तुलमायाले भनिन्, “म ६१ वर्षकी भएँ संसारै भष्म पार्लाजस्तो यस्तो आगलागी त देखेकी थिइनँ ।“ डिभिजन वनले काठ भण्डारण (घाटगद्दी) गरिएको क्षेत्रफलाई डढेलोबाट जोगाउन चारैतिर ट्रेन्च खन्नुका साथै ६ मिटर चौडाइको फायरलाईन बनाउने जस्ता पूर्व सतर्कता अपनाएको थियो ।

काठ भण्डारण क्षेत्र नजिकै सब डिभिजनका कार्यालय र सशस्त्र पोष्ट रहेकाले पनि सबै सतर्क अवस्थामा थिए । तर हावाको भुमरीले डढेलोको ठूलो मुस्लोलाई उडाएर घाटगद्दी क्षेत्रको चारैतिर सल्काएपछि खडेरीले सुकेर खारिएका झिक्रा र पुराना सुके मक्किएका काठ हेर्दाहेर्दै पट्रोल दन्के झैं दन्केपछि हाहाकार मच्चिएको प्रत्यक्षदर्शीले बताए ।

लक्ष्मीनियाँको डिभिजन वन कार्यालय दक्षिणतर्फको करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको घाटगद्दीमा डढेलो लागेको छ । यो घाटगद्दीका ४ ब्लकमा दश वर्ष पुरानादेखि ०७४ सालमा ४०० केभी हाइटेन्सनलाइनको मुनि कटान गरिएका काठ राखिएका छन् । जसमध्ये डढेलोबाट ब्लक ‘सी २’ को ७५ प्रतिशत र ब्लक ‘सी ४’ को शतप्रतिशत काठ जलेको डिभिजन वन प्रमुख सन्तोष झाले बताए । आगो निभाउने काम जारी रहेकाले कति परिमाण र कति मूल्य बराबरका काठ जले यकिन हुन सकेको छैन ।

तथापि डढेलोका कारण ७० प्रतिशत कुकाठ र ३० प्रतिशत सखुवा काठ खरानी भएको अनुमान गरिएको छ । “अहिले हामी सबै आगो निभाउने काममा केन्द्रित भएकोले क्षतिको यकिन विवरण भन्न सकिने अवस्था नरहेकोले तत्काल अनुमान मात्र गरिएको हो“, झाले भने, “बाँकी रहेका २ वटा ब्लकका काठलाई भने सबैको प्रसायले पूर्णरुपले जोगाउन सकिएको छ ।“ वन डढेलो पूर्णरुपले नियन्त्रणमा आइसकेको छैन भने अपरान्हपछि पश्चिमी हावा चल्ने हुँदा थप जोखिम हुन नदिन नियन्त्रणको प्रयास भइरहेको डिएफओ झाले बताए ।

Comment


Related News

Latest News

Trending News