अपडेट 
२०८० चैत्र ५, सोमबार ०८:०२

धनुषाको मिथिला नगरपालिकाको कार्यालय अगाडि क्रसर उद्योगका मजदुर, ट्याक्टर धनी र ट्याक्टरमा काम गर्ने मजदुरहरुले प्रदर्शन गरेका छन् ।

नगरपालिकाले क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खनन बन्द गराएपछि आफूहरु बेरोजगार बनेकाले काम गर्ने वातावरण बनाइदिन माग गर्दै कार्यालय अगाडि ट्याक्टर जम्मा गरेर आइतबार उनीहरु प्रदर्शनमा उत्रेका छन् ।

विरोध प्रदर्शनको नेतृत्व गरिरहेका हरिदेव महतोले नगरपालिकाले क्रसर उद्योग र नदीनालाबाट बालुवा, गिट्टी निकाल्न बन्द गराएपछि त्यसमा आश्रित मजदुर र बैङ्कलाई ट्याक्टरको किस्ता बुझाउन नसकेर ट्याक्टर धनी मारमा परेको बताए । उनले पाँच सयभन्दा बढी मजदुर र सयौं ट्याक्टर काम नपाएर थन्किएको जानकारी दिए ।

नगरपालिका अन्तर्गत रहेको नदीनाला ठेक्का नलगाउनु नगरपालिकाको गल्ती भएको भन्दै यथाशीघ्र नदीनाला ठेक्कामा लगाउन र क्रसर उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माण गरिदिन आफूहरुको माग उनको भनाइ छ । हरिदेव यसअघि नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोलाई दुई पटक ज्ञापनपत्र बुझाएको बताउँदै कुनै निकास नदिएसम्म यहाँबाट नफर्कने बताए ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले आन्तरिक समस्याका कारण यस वर्ष खोला ठेक्कामा लाग्न नसकेको बताउँदै कार्यपालिका समितिको निर्णयअनुसार स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योगहरु बन्द गराएको बताए । उनले केही तत्वको उक्साहटमा ट्याक्टर धनी र मजदुर विरोधमा उत्रेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News