अपडेट 
२०८० चैत्र ७, बुधबार ०७:५१

महोत्तरीमा लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

जिल्लाको बर्दिबासमा लोसपाका नेताहरु जितेन्द्र सोनल, सर्वेन्द्र शुक्ला र रामप्रकाश चौधरीले संयूक्तरुपमा प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने गरी दुई दिनसम्म केन्द्रीय बैठक चल्ने जनाइएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्नका लागि १० वटा समूहले निर्माण गरेको छ । सो समूहले छलफलबाट आएको राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रवक्ता आभाष लाभले बताए । सो बैठकमा केन्द्रीय समितिका ३११ सदस्य मध्ये २०१ जनाभन्दा बढी सहभागी भएका छन् । ‘केन्द्रीय पदाधिकारीका ६४ जना भने सबै सहभागी भएका छन्,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमूलक हुने विश्वास गरिएको छ ।’ वरिष्ठ उपाध्यक्ष समेत रहेका मधेश प्रदेशका पूर्वमन्त्री जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गरेकाछन् भने वरिष्ठ स–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले वैठक पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित रहेको बताए ।

यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम विधान बमोजिम गठन भएका २५ वटा भातृ संगठन र शुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन् । अन्य संगठनहरू विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामती कर्मचारी संघको विषय भने छलफलको लागि अगाडि सारिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News