अपडेट 
२०८० चैत्र ८, बिहीबार ०६:३८

किर्ते नागरिकता र जन्मदर्ता बनाएको अभियोगसहित वीरगञ्ज महानगरपालिकाका मेयरमाथि दर्ता रहेको मुद्दाको अनुसन्धानमा जिल्ला प्रशासन कार्यालय बाधक बनेको छ ।

पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बुधवार सञ्चारकर्मीहरुसित गरेको परिचयात्मक कार्यक्रममा सम्बन्धित निकायबाट सक्कल प्रमाणहरु प्राप्त नभएकाले अनुसन्धानमा ढिलाइ भएको बताए । ‘सक्कल प्रमाणका लागि महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई दुई पटक पत्राचार गरिए पनि सक्कल प्रमाणहरु प्राप्त भएको छैन्’ उनले भने, अनुसन्धानलाई निष्कर्षमा पु¥याउन प्रहरीले काम थालिसकेको छ ।

मधेश प्रदेशका एकमात्र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी एकजना किशोरीलाई आफ्नी छोरी भन्दै वंशजको नाताले नागरिकता दिलाएका छन् । तर ती किशोरी मेयर सिंहकी छोरी नरहेको र नागरिकता किर्ते बनाइएको यथेष्ठ प्रमाणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको महिनौ बितिसक्दा पनि हाल सम्म कुनै कारबाही अगाडि नबढाइएको उजुरीकर्ता मोहम्मद सहाबुद्दिनले आरोप लगाउँदै आएका छन् । ‘प्रमाणसहितको उजुरी दिँदा पनि जिल्ला प्रशासन कार्यालयले कारबाहीमा चासो देखाएको छैन्’ उनले भने, वंशज नाताले किर्ते नागरिकता बनाउनेलाई प्रशासन कार्यालयले संरक्षण गरेको छ ।

नागरिकता बितरण गर्ने निकाय नै जिल्ला प्रशासन कार्यालय भएकाले सबै प्रमाणहरु त्यहाँ नै हुनुपर्ने उनको दावी छ । गृह मन्त्रालयले खटाएको अनुसन्धान टोलीले समेत घटनाको छानबिन गरेको छ । गृह मन्त्रालयको टोली समक्ष मेयर सिंहले दिएको वयानमा रुबिना श्रेष्ठ आफ् नी काञ्छी श्रीमती तर्फको छोरी भएको बताएका थिए ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई सक्कल कागज उपलब्ध नगराएको र महानगरपालिकाका मेयर सिंह नै रहेकाले त्यहाँबाट पनि प्रमाण उपलब्ध गराइएको छैन् । एसपी ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिन मेयर सिंहलाई हथकडी लगाउने परिचयात्मक कार्यक्रममा बताए । तर उनी कार्यक्षेत्रमा आउनु अगावै काठमाण्डुमा नै मेयर सिंहसित विशेष भेंटवार्ता गरिसकेका छन् ।

सञ्चारकर्मीहरुले त्यस विषयमा पनि जिज्ञासा राखेका थिए । पर्साको १४ पालिकामध्ये अनुसन्धानमा रहेका मेयर सिंहसित मात्रै काठमाण्डुमा भेंट गर्नुको तात्पर्य सञ्चारकर्मीहरुले जान्न चाहेका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई उनको कार्यकक्षबाट हातमा हतकडी लगाएर ल्याउन आफू न हिचकिचाउने भन्दै उनले सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने निर्णय समेत हुन सक्ने आशंका व्यक्त गरे ।

मेयर सिंहले रुबिना श्रेष्ठको जन्मदर्ता समेत किर्ते गरेको मुद्दा सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भइसकेको छ । जन्मदर्ता किर्तेको सम्पूर्ण प्रमाणसहित मोहम्मद लियाकतले सरकारी वकिल मार्फत मुद्दा दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता गरे पनि प्रमाण प्राप्त नभएको भन्दै पञ्छिने गरेको उनले आरोप लगाएका छन् । मेयर सिंहको प्रभावमा परेर जिल्ला प्रशासन र प्रहरी कार्यालयले गैरकानुनी काममा समेत कारवाही नगरेको आरोप लाग्न थालेको छ ।

सञ्चारकर्मीहरुसितको संवादमा एसपी ढुंगेलले जिल्लामा हुने गरेका आपराधिक घटनाहरुलाई नियन्त्रण गर्न आफू इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता जनाए । ‘अन्यायमा परेका नागरिकले सोझै आफूलाई भेंटने वातावरण मिलाउने छु’ उनले भने, पीडामा परेकाहरुलाई प्रहरीले न्याय दिलाउने छ ।

पर्सा जिल्ला तस्करीका लागि देशैमा कुख्यात मानिन्छ । भन्सार छलेर नेपाल भित्रिने मालवाहक ट्रकका धनीहरुसित दोस्रो पटक ‘सेटिंग’ नमिले नियन्त्रणमा लिने गरिने आरोप पर्साका प्रहरीमाथि लाग्दै आएको छ । भारी परिमाणमा प्रहरीले राजस्व छलीका मालसमानहरु बरामद गरे पनि ‘सेटिंग’पछि छाड्ने गरिएको जानकारी एसपी ढुंगेललाई पत्रकारहरुले गराएका थिए ।

पर्साका तस्कर, हुण्डी कारोबारीहरुको प्रहरीसँग बलियो ‘सेटिंग’ रहेको बताइन्छ । भ्रष्टाचारमा संलग्नताको मुद्दा खेप्नु नपरे पनि विगतमा विवाद मुक्त कमै प्रहरी प्रमुख रहन सकेका छन् ।

Comment


Related News

Latest News

Trending News