अपडेट 
२०८० चैत्र १२, सोमबार ०६:११

होलीको पूर्वसन्ध्यामा प्रत्येक वर्ष झैँ यसवर्ष पनि मिथिला नाट्यकला परिषद्ले होरी गायन प्रतियोगिता सम्पन्न गरेको छ भने महामुर्ख सम्मेलन आज हुने भएको छ ।

जनकपुरधाममा आइतबार मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको सह– आयोजनमा भएको सो होरी गायन प्रतियोगितामा पोखरभिण्डा होरैया समूह, सम्सी गाउँपालिका महोत्तरी प्रथम भएको छ । सो प्रतियोगितामा बलहा कठाल होरैया समूह जनकनन्दनी गाउँपालिकाको महिला समूह द्वितीय स्थान र कटैया होरैया समूह, धनौजी गाउँपालिकाले तृतीय स्थान प्राप्त गरेको छ ।

प्रथम, द्वितिय र तृतिय स्थान हुनेहरुलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले क्रमशः छ भरि, चार भरि र तीन भरि चाँदीको मेडलले पुरस्कृत गरेकी थिइन् । त्यस्तै थारु कल्याणकारी समूह कसहा, सप्तरी र मिरजापुर सर्लाही होरैया समूहलाई सान्त्वना पुरस्कारस्वरुप जनही दुई हजार पाँच सय रुपैयाँ मन्त्री यादवले प्रदान गरिन् ।

सो प्रतियोगितामा १० वटा होरैया समूह सहभागी भएको थियो । सो १० समूह मध्येका विजेता छनोटकर्ताका रुपमा निर्णायक मण्डलसमेत गठन गरिएको थियो । सो निर्णायक मण्डलमा वरिष्ठ पत्रकार साहित्यकार हिमांशु चौधरी, गायक ललित कामत र शिक्षक तथा साहित्यकार प्रेम विदेह ललन रहेका थिए ।

सो प्रतियोगिताको शुभारम्भ मन्त्री यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष वृषेश चन्द्रलाल, एमाले नेता शितल झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र मिनापका पदाधिकारीहरुले संयुक्तरुपमा गरेका थिए । सो क्रममा गायक सुनिल मल्लिक, ललित कामत लगायतले होरी गीत गायन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

दुई दिनसम्म चल्ने होली महोत्सव अन्तर्गत पहिलो दिन होरैया गायन सम्पन्न भएको छ भने सोमबार महामुर्ख सम्मेलन हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News