अपडेट 
२०८० चैत्र १३, मंगलवार ०८:१२

होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

राजनीति क्षेत्रमा सक्रिय भएर समाजका लागि गरेको योगदानको कदर गर्दै उनलाई महामूर्ख २०८० को उपाधिले सम्मान गरिएको छ । विभिन्न माध्यमले समाजमा अतुलनीय योगदान गर्ने एक जना व्यक्तिलाई मिनापले होलीको अवसर पारी प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दैआएको छ ।

सोमबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह र मिथिला युवा नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले संयुक्त रूपमा प्रदेश सभाका सभामुख मण्डललाई सो सम्मान प्रदान गरे । कृषिउपजका बस्तुले तयार पारिएको माला, फूलको माला र उपहार दिएर सम्मान प्रदान गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभाका सभामुख मण्डलले होली हजारौँ वर्षदेखि समाजले मनाउँदै आएको र यसको प्रेम, सदभाव भाइचारा कायम गर्न महत्त्वपूर्ण स्थान रहेको बताए । यस प्रकारको सम्मान दिएर मिनापले आफूलाई अझ बढी जिम्मेवार बनाउन खोजेको भन्दै मिथिला संस्कृतिको संरक्षणका लागि आफूबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महामूर्ख सम्मेलनमा समाजको विभिन्न क्षेत्रमा रहेर समाजका लागि दिंदैआएको योगदानको कदर गर्दै मिनापले अर्थमन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, साहित्यकार प्रेम विदेह ललनलाई मूर्खमहामण्डलेश्वर, शिक्षक महावीर दासलाई सदाबहारमूर्ख, युवा अभियानी दिनेश पूर्वेलाई बैशाखानन्द, नित्यानन्द मण्डललाई खेसारीलाल, सुभाष चन्द्र साहलाई स्थायीमूर्ख, युनाप पर्वाहालाई निर्विकल्पमूर्ख, पिपरा गाउँपालिकाका उप मेयर बन्दना पाण्डेलाई दिलतोरिया, कलाकार सुधिरा कर्णलाई हरिप्रिया, मधेश प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहलाई लोरहाशंकर, योग प्रशिक्षक विमल पण्डितलाई बुरिराज, कलाकार योगेन्द्र पण्डितलाई बज्रकिट, अनिकेत रंगटालाई सोटानन्द मानपदवीबाट सम्मानित गरिएको थियो।

विगत २८ वर्षदेखि आयोजना हुँदैआएको महामूर्ख सम्मेलन यस वर्ष मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको छ । कार्यक्रममा राजनीति र समाजमा देखिएका विकृतिको सम्बन्धमा कविहरूले विभिन्नखालका कविता वाचन गरी सहभागीलाई हँसाएका थिए । मिनापका कलाकारले लोकभाकाका होरी गीतहरू गाएर सहभागीलाई मनोरञ्जन गराएका थिए ।

Comment


Related News

Latest News

Trending News