अपडेट 
२०८० चैत्र १८, आईतवार ०६:४५

महोत्तरी जिल्लाको भिठ्ठामोडमा सुख्खा बन्दरगाह बनाउन नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार भेटेका कांग्रेसका नेताहरुले सुख्खा बन्दरगाह बनाउन माग गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती भिठ्ठामोडमा भारत सरकारले सुख्खा बन्दरगाह बनाउन लागेको बताउँदै नेपाली भूमिमा समेत सुख्खा बन्दरगाह बनाउन आग्रह गरेका छन्

भारत सरकारले भिठ्ठामोडलाई रेलमार्गबाट कोलकत्तासंग जोड्न लागेको उल्लेख गर्दै नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले सुख्खा बन्दरगाहका लागि सरकारी जमिन सहित केही जमिन अधिग्रहण गरे पुग्ने रहेको बताए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । ‘आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीको समग्र विकासका लागि प्राथमिकतामा राख्न लगाउने छु’ प्रचण्डले भने–‘आफूले विगतमा समेत पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने छु ।’ महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र राजनीति दलका प्रतिनिधिमण्डसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा सुख्खा बन्दरगाहलाई समेत राख्ने बताए । भिठ्ठामोड नाकाबाट मालसमान आयात निर्यात गर्न कुनै कठिनाई नरहेपनि सुख्खा बन्दरगाह निर्माणले थप सहज हुने प्रधानमन्त्री प्रचण्डले बताए ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरको विकासमा सरकारको सहयोग रहने र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनलाई केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको बताए । भेटघाटमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादव, महोत्तरी जिल्लाका सभापति नागेश्वर यादव, लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

जनकपुरधामबाट १९ किलोमिटर र जलेश्वरबाट ५ किलोमिटर दूरीमा रहेको भिठ्ठामोड भन्सार कार्यालयको वरिपरि पर्याप्त सरकारी जग्गा रहेको र आवश्यक जग्गा सस्तो मूल्यमा दिन किसानहरु तयार रहेको लोहारपट्टीका मेयर यादवले बताए । ‘६० बिघा जग्गा सरकारले चाहेको बेला उपलब्ध हुने अवस्था छ ’ उनले भने, मधेश प्रदेशको मध्यमा रहेको भिठ्ठामोड भन्सारमा सुख्खा बन्दरगाहको निर्माणले ठूलो आर्थिक क्रान्ति आउने छ ।

भारत सरकारले सुरु गरेको रामायण सर्किट अन्तर्गत सीतामढीलाई बिस्तार गर्दै भिठ्ठामोडलाई सुख्खा बन्दरगाह बनाउन थालेको छ । त्यसका लागि भारत सरकारले ७० बिघा जमिन अघिग्रहण गरिसकेको बताइएको छ । बस्ती समेतलाई अन्यत्र सारेर भारत सरकारले थप जग्गा अधिग्रहणको तयारीमा रहेको बताइएको छ । टुडे सहकर्मी राजु सोनीले सुरसण्डबाट जनाए अनुसार पुपुरी, सुरसण्ड र भिठ्ठामोड रेल मार्गको बिस्तारको कार्य चाँडै सुरु हुनेछ ।

भारतीय रेल मन्त्रालयले पास गरिसकेको योजना रहेकाले काम चाँडै सुरु हुने उनले बताए । सीतामढीदेखि पुपरी सम्म रेल सञ्चालनमा रहेको छ । त्यहाँबाट सुरसण्ड १४ किलोमिटर र सुरसण्डबाट भिठ्ठामोड ५ किलोमिट रहेको छ । भारत सरकारले सीतामढीको विकासका लागि हालै नयाँदिल्लीसित हप्तामा दुईवटा रेल सुरु गरेको छ । १३ घण्टामा सीतामढी–दिल्ली चल्ने रेलले नयाँदिल्लीबाट सीता जन्मभूमि जनकपुरधाम आउन श्रद्धालुहरुलाई सहज हुनेछ ।

नेपाल सरकारले सुख्खा बन्दरगाह बनाउन पहल नगरे दबाबमूलक कार्यक्रम थाल्ने कांग्रेसका नेताहरुले बताएका छन् । ‘भारतीय क्षेत्रमा भइरहेको विकासलाई नेपालले आफ्नो भूमिसित जोड्न सुख्खा बन्दरगाह निर्माणमा ढिलाई गर्न हुँदैन्’ कांग्रेस केन्द्रीय सदस्य किरण यादवले भनिन् ,भिठ्ठामोड सम्म आउने भारतीय रेल मार्गबाट कोलकत्तादेखि सोझै मालसमान ल्याउन सकिन्छ । हालको वीरगञ्ज–रक्सौल सुख्खा बन्दरगाहको भन्दा कोलकत्ताबाट भिठ्ठामोड नाका नजिक हुने उनले बताइन् ।

सीमावर्ती नेपाली भूभागको पूर्वाधार विकासमा संघीय सरकारले चासो देखाए नेपाली पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकहरुको ओइरो लाग्ने यादवले बताइन् । रामायण सर्किट अन्तर्गत सञ्चालनमा रहेको रेल सीतामढीमा रोकिने गरेको छ । त्यहाँबाट यात्रुहरु बसबाट जनकपुरधाम आउने गरेका छन् । जनकपुरधाम–अयोध्या बस सञ्चालनका लागि पनि नेपाली भूभागको सडकको स्तर सुधार गर्न आवश्यक रहेको सभापति यादवले बताए ।

Comment


Related News

Latest News

Trending News