अपडेट 
२०८० चैत्र १९, सोमबार ०७:०७

पर्सा प्रहरीले अन्तर्राष्ट्रिय ठगीको संजाल चलाउने तीनजना चिनियाँ नागरिकलाई आइतवार सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरुलाई शनिबार सांझ पक्राउ गरेको थियो । चिनियाँ नागरिकहरुले अनलाईनको माध्यमबाट दक्षिण एशियामै ठगीको धन्दा चलाई रहेको खुलासा प्रहरीले गरेको छ ।

पर्सा प्रहरीले आइतवार गरेको पत्रकारसम्मेलनमा पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुको ठगी धन्धाको खुलासा गरेको छ । प्रहरीले शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिकहरुले नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायतका देशमा अनलाइन ठगी धन्धा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

चिनियाँ नागरिकहरुको गिरोहले नेपाली तथा विदेशी नागरिकहरुलाई अनलाइन लाटरी, अनलाइन ‘सपिङ’ एवम भारतमा अनलाईन रोजगार एवम कर्जा जस्ता विभिन्न प्रलोभनमा पारी ठगी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का नन्दु पटेलको घरमा छापामारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोद ढुंगेलले छापामारीको क्रममा प्राप्त सूचनाहरुको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । ‘क्रिप्टो करेन्सीे र मनिलंड्रिग लगायतको कारोवारमा पनि यो संजालको सहभागिता हुन सक्छ ’ सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भने–‘सबै विषयहरु अनुसन्धानबाट बिस्तारै खुलासा हुँदै जानेछ ।’ स्थानीय नन्दु पटेलको अढाइ तले घर पुरै भाडामा लिएर लगभग तीन महिना देखि संचालनमा ल्याइएको प्रहरीको आशंका छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवास्थित अढाइ तल्ले एउटा घर भाडामा लिएर कल सेन्टर स्थापना गरी अनलाइन ठगीको धन्धा चलाइरहेका चिनियाँ गिरोहलाई प्रहरीले झण्डै डेढ महिनादेखि निगरानीमा राखेको थियो । चिनियाँ नागरिकले गोप्यरुपमा चलाइरहेका उक्त अनलाईन संजालको बिस्तृत अनुसन्धानका लागि दोभासे बोलाएर सोधपुछ प्रक्रिया अगाडि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपाली र हामीले चिनियाँ भाषा ‘बोल्न– बुझन्’ नसकेकाले काठमाण्डुबाट चाइनीज भाषा बुझ्नेलाइ बोलाएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएकोछ ।

नियन्त्रणमा लिइएका मोबाइल फोनमा रेकर्ड भएका संवाद चिनियाँ भाषामा रहेको र बयानका क्रममा उनीहरुले चिनियाँ भाषामै बोलिरहेकाले चिनियाँ भाषाविद् र अनुवादकहरुलाई बोलाएर थप अनुसन्धान गरिने ढुंगेलले बताए । त्यसपछि मात्रै यो गिरोहका वास्तिवकता खुल्ने उनले बताए । उनीहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय उपकरणहरु, डेस्कटप कम्प्युटर, ल्यापटप, मोबाईल फोन, नेपाल र भारतका सिमकार्डहरू तथा विभिन्न देशका मुद्राहरु समेत बरामद भएको एसपी ढुंगेलले पक्रकार सम्मेलनमा बताए । डेस्कटप कम्प्युटरको सीपीयू १ सय २० थान, मनिटर १ सय १८ थान, ३ थान पासपोर्ट, मोबाईल ३५ थान, भारतीय जिवो सिमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरि विभिन्न बैंकहरूका एटीएम कार्ड ३ थान, किबोर्ड २३ थान, इन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनी इन्र्भटर २ थान बरामद गरिएको छ । भारतीय नम्बर बीआर ०१ सि एक्स ५७९२ नम्बरको आई २० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान बरामद भएको छ । यसैगरि मलेशियन ३७ रिंगिट, नेपाली ५ सय दरका नोट ८६ पिस गरी ४३ हजार र कम्बोडियन ३५०० रुपैँया समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा अभद्र मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले छापामारीको क्रममा दुई स्थानीय र तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । स्थानीय नेपाली नागरिक दुई जना चिनियाँ भाषा अनुवादक रहेको प्रहरीले जनाएको छ । तर उनीहरुलाई सार्वजनिक गरिएको छैन् ।

प्रहरी उपरीक्षक ढुंगेलले अनुसन्धानका क्रममा थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिए पनि अनुसन्धानका क्रममा उनीहरुको संलग्नता नदेखिएको बताए । प्रहरीको अनुसन्धानका क्रममा ती दुई चिनियाँ नागरिक पर्यटकका रुपमा वीरगञ्जमा घुम्न आएकाले आवश्यक प्रकृया पछि रिहा गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

नियन्त्रणमा लिएको अनुवादक दुई जना नेपालीको प्रहरीले परिचय खुलाएको छैन । पक्राउ पर्ने चिनियाँ नागरिकमा चिनको हुवान प्रान्तका ३३ बर्षीय लियु सियु साइ, हुबेइ प्रान्तका २६ बर्षीय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ बर्षीय छियाङ्ग छियो रहेका छन् ।

बिशेष सूचनाको आधारमा शनिबार अपरान्ह प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा डेरा लिएर बस्दै आएका लियु र वाङ्गलाई तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बाट छियाङ्गलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै पर्साका एसपी ढुंगेल नेतृत्वको प्रहरी टोलीले कलसेन्टर सेन्टर वीरगञ्ज १५ लक्ष्मणवास्थित नन्दु पटेलको घरमा पुगेर छापा मारेको थियो ।

Comment


Related News

Latest News

Trending News