अपडेट 
२०८० चैत्र १९, सोमबार १८:५७

पाकिस्तानको उच्च अदालतले तोशाखाना मामिलामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीलाई दिइएको १४ वर्षको सजाय निलम्बित गरेको छ ।

इमरान खान र उहाँकी श्रीमती बुशराले यही वर्षको जनवरीमा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टको तर्फबाट तोशाखाना मामिलामा सुनाइएको सजाय निलम्बित गर्नका लागि उच्च अदालतमा अपिल गर्नुभएको थियो । इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश मियाँ गुल हसनको दुई सदस्यीय इजलासले यही निवेदनको सुनुवाइ गर्दै आज यो फैसला सुनाएको बीबीसी हिन्दीले जनाएको छ ।

अदालतले तोशाखाना मामिलामा सजाय निलम्बित गरे पनि इमरान खान तत्काल जेलबाट बाहिर आउन पाउनुहुने छैन । उहाँमाथि अन्य केही मुद्दा पनि चलिरहेको छ ।

पाकिस्तानमा फेब्रुअरीमा भएको आमचुनावको अघिल्लो दिन इमरान खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री खान र उहाँको पीटीआई पार्टीलाई चुनावबाट बाहिर निकाल्ने प्रयास भएको बताएका थिए ।

प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसदसहित वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राख्नका लागि पाकिस्तानमा सन् १९४७ मा तोशाखाना स्थापना भएको थियो । यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो ।

पूर्वक्रिकेटरसमेत रहेका ७१ वर्षीय इमरान खानले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेको भन्दै इस्लामाबाद अदालतले दोषी ठहर गरेको थियो ।

Comment


Related News

Latest News

Trending News