अपडेट 
२०८० चैत्र २०, मंगलवार ०७:०५

मधेशमा घरेलु हिंसामा व्यापकरुपमा वृद्धि हुँदैछ ।

एक महिलासंग अघि नै विवाह गरेका युवकले एक वर्ष नवित्दै अर्की श्रीमती भित्र्याउँदा जेठी श्रीमती अहिले बेघर भएकी छन् । जेठी श्रीमतीलाई यातना दिँदै उनलाई आफूसंगै नराख्ने भन्दै पीडा दिइरहेको घटना सार्वजनिक भएको छ । सो घटना थाहा पाए लगत्तै पीडित महिलाकी परिवारजनले मुद्दा प्रक्रिया अघि बढाउने भएका छन् ।

धनुषाको सबैला नगरपालिका स्थित इनर्वा र हाल जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित कटैयाचौरी बस्ने नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य सुरेश ठाकुरको दाजु राजेश ठाकुरकी छोरी अनिसा ठाकुरको विवाह महोत्तरी पिपरा गाउँपालिका–५ स्थित हर्दियाका श्रीनारायण ठाकुरका छोरा सुभाष ठाकुरसंग २०८० वैशाख ८ गते भएको थियो । हिन्दू परम्परा अनुसार भएको सो विवाहमा करिब ३५ लाख रुपैयाँको कुल खर्चमा भएको विवाह एक वर्ष नवित्दै समस्या परेको पीडित परिवारजनले चिन्ता व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारमा रहेका सुभाष विवाह गरेको एक वर्ष नपुग्दै अर्की श्रीमती भित्र्यिाएपछि अनिशालाई यातना दिन थालेका छन् । विवाहको दश दिनपछि वैशाख १८ मा अनिशाको ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो । बुबालाई छोड्न सुभाष काठमाण्डु गए । बुबा विदेश उडिसकेपछि वैशाख २० मा सुभाष काठमाण्डुबाट घर फर्किए । २४ गतेसम्म अनिशा–सुभाषको वैवाहिक सम्बन्ध सामान्य नै थियो । त्यसपछि सुभाषले एक्कासी अनिशाको बुबा राजेशलाई फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस्’ भने । राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गर्दा सुभाषको जवाफ थियो,‘तपाईंकी छोरी लाटी छन्, त्यसैले राख्दिनँ ।’ राजेशले आफ्नी छोरी लाटी भए नभएको पुष्टि डाक्टरले गर्ने भएकाले चेकजाँचका लागि आफू तयार रहेको बताए ।

अनिशामाथि लाटी रहेको आरोप लगाउँदै उनका श्रीमान सुभाषले कान्छी श्रीमतीलाई भित्र्याएपछि जेठी श्रीमती पक्षका परिवारजनले उनीमाथि बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको सुरेशले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिए पनि निवेदन लिन अस्वीकार गरे पछि अदालतमा मुद्दा दर्ता गराउने तयारी थालेको अनिशाकी काका सुरेश ठाकुरले बताए । मंसिर २६ गते राति कुटपिट गरी केटा पक्षले अनिशालाई ससुराली घरबाट निकाला गर्दै जनकपुरधामस्थित माछा बजार नजिक अलपत्र अवस्थामा छाडेर गएको सुरेशले बताए । सो घटनाबारे महोत्तरी प्रहरीमा लिखित तथा मौखिकरुपमा कारबाही गर्न भन्दा पनि बेवास्ता गरेको उनको भनाइ छ । सुभाषलाई फरार हुनमा सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशले दाबी गरेका छन् ।

सुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ । गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी छन् । आफ्नी भतिजीसँग विवाह गरेर पनि फेरि अर्को विवाह गरेकोले सुभाष विरूद्ध बहुविवाहको मुद्दा दर्ता गर्न चाहेका छन् । तर, मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलका तत्कालीन प्रमुख सई लेखनाथ खनालले सुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफूले उद्धार गर्दा उनले विवाह स्वीकारे पनि उनलाई अहिले के कति कारणले रिहा गरिएको भन्नेबारे आफूलाई थाहा नभएको बताए ।

बहुबिबाह कसुरसम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुबिबाह कसुरसम्बन्धी व्यवस्थामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता हेमन्त झा बताउँछन् ।

Comment


Related News

Latest News

Trending News