अपडेट 
२०८० चैत्र २०, मंगलवार ०७:१६

प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलियालाई दिने गरेको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।

धनुषा क्षेत्र नम्बर ४ (क) स्थित स्थानीय तहका वडाध्यक्षहरुले पर्यटन मन्त्रालयको योजनाहरुको चिट्ठी सम्बन्धित पर्यटन विकास कार्यालयबाट बिचौलिया लिएर आउने गरेको र मापदण्ड विपरित उपभोक्ता समिति बनाउन दबाव दिइरहेको आरोप लगाएका छन् ।

जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले पर्यटन विकास कार्यालय धनुषाका प्रमुख बिचौलिया मार्फत चिट्ठी पठाउने गरेको र के कुन आधारमा चिट्ठी पठाएको बारे बुझन आउंदा कार्यालय प्रमुख फरार रहेको आरोप लगाएका छन् ।

वडाध्यक्षहरु बिचौलिया मार्फत नभई सम्बन्धित वडाका व्यक्ति वा सिधै वडा कार्यालयमा योजनाको चिट्ठी पठाउन माग गर्दै गत दुई सातादेखि पर्यटन विकास कार्यालय धाईरहेका छन् । तर कार्यालय प्रमुख बासुदेव भट्ट सहित कार्यालयका कर्मचारी कार्यालय बन्द गरेर गायब रहेको क्षिरेश्वरनाथ नगरपालिकाका ४ का अर्का वडाध्यक्ष जगदीश यादवले बताए ।

पूर्वाधार विकास कार्यालयका लेखापाल दिलिप झाले वडाध्यक्षहरुको समस्या के हो त्यो आफूलाई जानकारी छैन । तर कार्यालय प्रमुखज्यू केही दिनदेखि कार्यालय नआइरहेको बताए ।

बिचौलिया मार्फत चिट्ठी पठाउने गरिएको र कार्यालय प्रमुख कार्यालय बन्द गरी गायब रहेको बारे उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित सचिव सुशिल कुमार साहले त्यस कुरा बारे आफूलाई जानकारी नरहेको तर वास्तविकता बारे बुझेर कार्यालय प्रमुख दोषी देखिए कारवाही गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News